काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारलाई सही बाटोमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको बताएका छन् । गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले कानुन र संविधानको सीमाभित्र रहेर मात्र कार्य गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
थापाले सरकारको आलोचना मात्र गर्ने नभई सकारात्मक कामको समर्थन गर्नुपर्ने बताए । उनले नेपाली काँग्रेस लाई सरकारलाई सही दिशामा मार्गदर्शन गर्ने राजनीतिक शक्ति रहेको उल्लेख गरे ।
उनका अनुसार आगामी पाँच वर्षका लागि सरकार सञ्चालनको अवसर प्राप्त गरेको दलले जिम्मेवारीपूर्वक शासन सञ्चालन गर्नुपर्नेछ, तर राज्य संयन्त्र संविधानअनुसार नै चल्नुपर्नेमा कुनै सम्झौता हुन नहुने बताए ।
उनले सरकारको कामकाज गति र उत्साहका नाममा असन्तुलित नहुनुपर्ने भन्दै हतार र लहडमा नीति तथा निर्णय लिन नहुने चेतावनी दिए ।
थापाले राज्यले निजी क्षेत्रसँगको व्यवहारका कारण भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्ने पनि बताए । साथै उनले संघीय तहमा उठ्ने प्रश्नहरूको जवाफ जस्तै प्रदेश तहमा पनि स्पष्टता आवश्यक रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया