काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै साउन ७ गतेदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा गैरनाफामूलक सार्वजनिक सेवाको क्षेत्र भएको उल्लेख गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन नभएको बताएका छन् ।
डा. केसीले न्यूनतम मापदण्ड पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाको नेतृत्व चयनसम्म देखिएको आरोप लगाएका छन् ।
सरकार निजी मेडिकल क्षेत्रको प्रभावमा परेको दाबी गर्दै उनले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयहरूमा स्वार्थ बाझिने व्यक्तिलाई जिम्मेवारी दिइएको बताएका छन् ।
‘जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारप्रति सरकारले देखाएको असंवेदनशीलताका कारण म साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्दै छु । यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्नेछ,’ उनले विज्ञप्तिमा भनेका छन् ।


प्रतिक्रिया