काठमाडौँ । नेपाली कांग्रेस आगामी मङ्सिरमा हुने १५औं केन्द्रीय महाधिवेशनको तयारीमा रहे पनि पार्टीभित्रको आन्तरिक विवाद अझै समाधान हुन सकेको छैन। दोस्रो विशेष महाधिवेशनपछि नेतृत्वमा आएका सभापति गगनकुमार थापा र संस्थापन इतर (खड्का–कोइराला) समूहबीचको दूरी बढ्दै जाँदा पार्टीभित्र विभाजनको सम्भावनाबारे चर्चा हुन थालेको छ।
विशेष महाधिवेशनपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगसम्म पुगे पनि अपेक्षित परिणाम नआएपछि अहिले राष्ट्रिय भेला गरेर नयाँ दल गठनसम्मको विकल्पबारे छलफल गरिरहेको छ। इतर पक्षले पार्टी एकताका लागि आफूहरूले पटक–पटक पहल गरे पनि संस्थापन पक्षबाट ठोस प्रयास नभएको आरोप लगाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रूपान्तरणको नारासहित नेतृत्वमा आएका सभापति थापाका लागि १५औं महाधिवेशनअघि पार्टीभित्र सहमति कायम गर्दै नेतृत्व क्षमता र अभिभावकीय भूमिका प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसर बनेको छ।
संस्थापन इतर पक्षले विशेष महाधिवेशनपछि पार्टी सञ्चालन शैली एकपक्षीय भएको आरोप लगाएको छ। उनीहरूको भनाइमा नेतृत्वले वरिष्ठ नेताहरूलाई बेवास्ता गर्दै निर्णय प्रक्रिया अघि बढाएको छ।
पार्टी कार्यकर्ता महेन्द्रकुमारी लिम्बूले बिपी कोइरालाको विचार र इतिहास बोकेका नेताहरूलाई पाखा लगाएर नयाँ पुस्तालाई मात्र प्राथमिकता दिन खोजिएको आरोप लगाइन्। उनले भनिन्, “हामीले दुवै पक्षलाई मिल्न आग्रह गरेका छौँ। तर पार्टी मिलाउने मुख्य जिम्मेवारी विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाकै हो। उहाँले कार्यकर्ता र नेताहरूलाई सम्मान गर्दै सबैलाई समेटेर अघि बढ्नुपर्छ।”
पूर्व महाधिवेशन प्रतिनिधि बलराम खतिवडाले असन्तुष्ट पक्ष एकताका लागि लचिलो भए पनि वर्तमान नेतृत्व संवादबाट टाढिएको आरोप लगाए। उनका अनुसार शेरबहादुर देउवा, शेखर कोइराला र शशांक कोइरालासहितका वरिष्ठ नेताहरू पार्टी एकताकै पक्षमा भए पनि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले त्यसतर्फ पर्याप्त चासो नदिएको आरोप छ। खतिवडाले भने, “पार्टी अझै फुटिसकेको छैन। तर विभाजन भयो भने त्यसको मुख्य जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्छ।”
बागमती प्रदेश सदस्य कल्पना खड्काले युवाको ऊर्जा आवश्यक भए पनि अनुभवी नेताहरूलाई अलग राखेर पार्टी सञ्चालन गर्न नसकिने बताइन्। उनले भनिन्, “हामीले गगन थापालाई नै नेतृत्वमा पुर्याएका हौँ। तर युवाको नाममा पुराना पुस्तालाई अलग गर्न मिल्दैन। काँग्रेस युवाको जोश र पुराना पुस्ताको अनुभवको समन्वयबाट मात्रै बलियो बन्छ।”
काठमाडौँका पूर्व जिल्ला सभापति भीमसेनदास प्रधानले पनि पार्टी एकताबाट सबैभन्दा बढी राजनीतिक लाभ सभापति थापालाई नै हुने बताए। उनले भने, “पार्टी मिल्यो भने गगन थापा सबैको नेता बन्नुहुन्छ। विभाजन भयो भने उहाँ विशेष महाधिवेशनबाट बनेको समूहको मात्रै नेता बन्नुहुनेछ।”
पार्टी कार्यकर्ता यमुना खड्का विश्वकर्मा र बिन्दा देवी अर्यालले काँग्रेस विभाजित भए देशको राजनीतिक स्थिरतामै असर पर्ने धारणा व्यक्त गरे। अर्यालले उमेरभन्दा नेतृत्व क्षमता र विचार महत्वपूर्ण हुने उल्लेख गर्दै १५औँ महाधिवेशनमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताइन्। उनले भनिन्, “दुवै पक्ष मिलेर अघि बढे मात्रै काँग्रेस बलियो बन्छ र त्यसले देशलाई पनि स्थिरता दिन सक्छ।”
करिब आठ दशकको राजनीतिक इतिहास बोकेको नेपाली काँग्रेस अहिले महत्वपूर्ण मोडमा उभिएको छ। आगामी महाधिवेशनमार्फत पार्टीलाई नयाँ दिशा दिने चुनौतीसँगै आन्तरिक विभाजन रोक्ने दायित्व पनि नेतृत्वसामु छ। पार्टी एकताका लागि संवाद, सहमति र लचकता आवश्यक रहेको आवाज पार्टीभित्रबाटै उठिरहेका बेला नेतृत्वले त्यसलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले काँग्रेसको आगामी राजनीतिक यात्रा निर्धारण गर्ने देखिन्छ।


प्रतिक्रिया