काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सोमबार (साउन १८ गते) काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने साना नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले बिहान सार्वजनिक गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलान्चोक जिल्लामा बहने साना नदी तथा खोलाको बहाव उल्लेख्य रूपमा बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहने सम्भावना छ। ती क्षेत्रमा नदी किनार, खोला आसपास र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) लगायत आसपासका जिल्लामा बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र मध्यम जोखिमको आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाका अनुसार ठुला नदीहरू हाल सतर्कता तहभन्दा तल रहे पनि निरन्तर वर्षाका कारण साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनारमा हुने गतिविधि, यात्रा तथा निर्माण कार्यमा विशेष सावधानी अपनाउन आवश्यक छ।
विभागले स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन तथा आवश्यक तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ। साथै सर्वसाधारणलाई मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउँदै जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


प्रतिक्रिया