अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल वार्ता भइरहेको खुलासा गर्दै यो इरानका लागि सम्झौता गर्ने ‘अन्तिम मौका’ भएको बताएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।
ट्रम्पकाअनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारको समर्थनमा इरानकै अनुरोधमा यो वार्ता प्रक्रिया अघि बढेको हो । उनले इरानलाई एउटा राम्रो सम्झौतामा हस्ताक्षर गर्नका लागि यो अन्तिम अवसर भएको चेतावनीसमेत दिए ।
वार्ताको रणनीतिका बारेमा प्रस्ट पार्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामी अहिले वार्ता गरिरहेका छौँ । यो वार्ता दुई चरणमा केन्द्रित हुनेछ । पहिलो चरणमा हर्मुज जलसन्धि लाई पूर्ण रूपमा खुला गर्ने विषयमा छलफल भइरहेको छ, जुन भोलीसम्ममा टुङ्गिने सम्भावना छ । दोस्रो चरणमा इरानको परमाणु निःशस्त्रीकरणका बारेमा कुराकानी हुनेछ ।’
उनले इरानको परमाणु क्षमता अन्त्य हुनुपर्नेमा जोड दिँदै यो प्रक्रियाले केही समय लिने बताए । यसअघि ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानी नेतृत्वको आलोचना गर्दै उनीहरूले ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाएका थिए ।
ट्रम्पकाअनुसार इरानले एकातर्फ वार्ताका लागि अनुनय गर्ने र अर्कोतर्फ सार्वजनिक रूपमा अमेरिकासँग कुनै संवाद नभएको भन्दै भ्रम फैलाउने गरेको छ । यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको कुरालाई अस्वीकार गरेका छन् ।
तेहरानमा आयोजित पत्रकार सम्मेलनमा बाघेईले इरान हाल हर्मुज जलसन्धिका विषयमा ओमानसँग मात्र वार्तामा रहेको स्पष्ट पारे । इरान र अमेरिकाबीचको सम्बन्धमा तनाव बढिरहेका बेला राष्ट्रपति ट्रम्पको यो पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


प्रतिक्रिया