महिला अधिकारकर्मी तथा सामाजिक अभियान्ता गीता पोखरेलले आफू बलात्कृत भएर न्याय नपाएको बताएकी छन् । आफूलाई विवाहको प्रलोभन देखाएर नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जयप्रकाश जयसवालले बलात्कार गरेको उनको आरोप छ ।
‘साथीभाइमार्फत् एक पुरुष चिनजान गर्न आइपुगे । केही दिनमै प्रेम प्रस्ताव गरे । तत्काल स्वीकार गर्ने कुरो भएन, डाक्टरकै सर्टिफिकेट देखाए । उज्जवल भविष्यको सपना देखाउन थाले । होला भनेर उनलाई विश्वास गर्न थालें । भेटघाट बाक्लियो, शारीरिक सम्बन्ध राखें, त्यसपछि मिसन पूरा भएको आभास दिन थाले । पछि म आफै टाढिएँ, तर तिनै डाक्टरको भ्रुण मेरो पेटमा विकसित हुँदै गएको डेढ महिनापछि थाहा भयो’ महिला अधिकारकर्मी तथा सामाजिक अभियान्ता गीता पोखरेलले भनिन्, ‘त्यसपछि मेरा दुःखका दिन सुरु भए । अध्ययनसँगै छोरी हुर्काउनु, समाजसँग लड्नु र न्यायका लागि भौतारिनु मेरो दैनिकी बन्यो ।’
गीता यतिबेला बेलायतमा बसोबास गर्छिन् । धनसम्पत्ति र मायाको अब उनलाई कुनै अभाव छैन । तर विगत सम्झेपछि उनलाई पीडाबोध हुन्छ, भक्कानो फुट्छ र ती पीडालाई अक्षरमा लिपिबद्ध गर्न पुग्छिन् । नेपालमा कर्पोरेट बलात्कारका घटनाहरु सञ्चार माध्यममा सार्वजनिक हुँदा उनी बिगतमा फर्किन्छिन् र पीडा महसुस गर्छिन् । गीता भन्छिन्, ‘मैले पीडा भोगेको बेला पीडकलाई सजाय दिनसकेको भए वर्तमानमा धेरै महिलाहरुले सतित्व लुटाउनु पर्दैन थियो ।’
न्याय निरुपण हुन नपाउँदै उनलाई अदालतमै सम्झौंता गर्न बाध्य बनाइएको थियो । के हो वास्तविकता ? छोटो समयमा कसरी गीता बेलायतमा सुविधासम्पन्न जीवन बिताउन पुगिन् । नेपालमा अहिले फेरि बलात्कारको विषय चर्किरहेको छ । फेरि गीतालाई पनि त्यही पुरानो घटनाले पिरोलिरहेको छ– ‘मैले न्याय कहिले पाउँछु ?’ प्रश्नको उत्तर खोज्न उनी सामाजिक सञ्जालहरुमा पोखिन्छिन् । तर उनले न्यायको अनुभूति गर्न सकिरहेकी छैनन् । यिनै विषय समेटेर गीतासँग ग्लोब नेपालले उनीसँग गरेको कुराकानीको सम्पादित अंश–
० सामाजिक सञ्जालमा तपाईंले नै पोष्ट गरेको पुरानो घटना धेरैले शेयर गरेको देखियो, अहिले फेरि किन ल्याउनुभयो ?
-मैले अहिले मात्र ल्याएको हैन । पहिलेदेखि मैले विभिन्न माध्यमहरुबाट म माथी भएको बलात्कारकोबारेमा बोलिरहेकी छुँ । लेख रचनाहरुमा पनि मैले न्याय नपाएको पीडा पोखिरहेकी थिएँ । तर, जबजब नेपालमा यस्ता घटनाहरुको चर्चा हुन्छ फेरि मलाई म माथीको त्यो घटनाले पिरोल्छ अनि फेरि म बोल्छु । अहिले पनि त्यस्तै भएको हो ।
० तपाईंको विषय त अदालतबाट टुंगिसकेको हैन र ? फेरि बलात्कारसँग जोड्नु न्यायोचित हुन्छ ?
– त्यो बेला बलात्कार भएको महसुस हुँदा पनि ३५ दिनको हदम्यादको कानुन थियो । अहिले कानुन संशोधित भएर एक वर्षको बनेको छ । मैले ९ वर्ष पीडा भोगें, र पनि न्याय पाइनँ । दोस्रो कुरा त्यो बेला गर्भपतनको विकल्प थिएन, तर त्यो मेरो इच्छा होइन । सबैको विषयमा बोल्नुपर्दा गर्भपतनका बारेमा पनि विकल्प राखिनुपथ्र्यो, त्यो कानुन पनि परिवर्तन भएर आयो ।
त्यो घटनाबाट मैले न्याय पाएकी छैन, म पीडित हुँ । म कति पीडित हुने, म जस्ता अरु कति महिला पीडित हुने ? पीडितले आवाज उठाउन पाउने कि नपाउने ? यो विषयमा म बोल्दा कानुनी हिसाबमा न्याय पाइसकेकी रहेछ, तैंले बोल्न पाउँदैनस् भनेर समाजले कति चोटी औंला उठाइराख्ने ?
मैले जन्माएको बच्चाको समान व्यवहार खोइ ? किन कानुनले त्यस्ता बेभिचारीको हात बाँध्न सक्दैन, किन छौंडाझै छोडिन्छ ? मलाई यो समाजले किन न्याय दिदैन ? यी हुन् मेरा प्रश्न ।
० न्यायका लागि अदालत जानुहुन्छ ?
– जाँदिनँ, मैले पुनः मुद्दा हाल्न लागेको पनि होइन । यतिबेला म मुद्दा हाल्ने ठाउँमा पनि छैन । तर, न्याय खोजिरहेकी छु ।
० फेरि न्याय भएन भन्नुहुन्छ ?
– मलाई समाजले न्याय दिनुपर्छ ।
० न्यायका लागि त अदालत जानुपर्ने होइन र ?
– तत्कालीन अवस्थामा मेरो व्यवहारिक कारणले गर्दा अदालतमा मिलापत्र भएको हो । कानुन व्यवसायी र न्यायधीशकै सल्लाहमा मैले अदालतमा मिलापत्र गरेकी हुँ । मलाई कानुन त्यत्ति धेरै थाहा छैन, म अन्यायमा परेकी मान्छे हुँ, कानुनविद् होइन ।
० न्याय महसुस नभइ किन मिलापत्र गर्नुभयो ?
– केस मिलापत्र गरेकी हुँ, मैले न्यायभन्दा पनि बच्चाको भविष्यबारे सोचेँ । मिलापत्रमा मेरो बच्चा नै होइन भनेपछि डिएनएसम्म केस पुगेको हो । डिएनए मिलेपछि केस स्वीकार गरिएको हो । एउटा बाबुले डिएनएसम्म केस पु-याउन सक्छ ? डाक्टरजस्तो मान्छेको नैतिक जिम्मेवारी हुँदैन ?
म जस्ताकाे स्वत विवाह हुने कानुन बदलिनुपर्छ । महिलाहरुलाई आफ्नो पहिचान चाहिन्छ । बलात्कारीको पूर्व श्रीमति भएर कसैले बाँच्न नपरोस् । हिजो मेरी छोरीले पनि भनी– ‘मेरो नागरिकताबाट बावुको नाम झिकिदेऊ, बावुको नाम नभएको नागरिकता मलाई देउ’ तर म यो गर्न सक्ने अवस्थामा छैन । यसले मलाई कति पिडा दिएको होला ? त्यो तपाईँले अनुमान पनि गर्न सक्नुहुन्न ।
० मिलापत्र गर्न किन बाध्य हुनुभयो, भन्न मिल्छ ?
– मैले दुःखका कुरा यसअघि नै भनिसकेकी छु । मेरी छोरी आठ वर्षकी भइसकेकी थिइन्, नागरिकता चाहिने बेला भइसकेको थियो । स्कुलले कक्षा ८ मा जन्मदर्ता खोज्छ । जन्मदर्ता नै रोकिएको थियो । अदालतको प्रकृया छिटो सक्न पाए, मेरी नानीको रोकिएको काम अघि बढ्थ्यो भन्ने लाग्यो । मेरो मात्र केस होइन, उसलाई पनि मैले सम्हाल्नुपथ्र्यो । छोरीको नागरिकताका लागि मैले मिलापत्र गरेकी हुँ । अंश मैले छोड्ने कुरा भएन । अंश केही लुकाइएका थिए, त्यसमा विवादै छैन, म पैसा कम भयो भन्दिनँ । मलाई न्यायको अनुभूति हुन्छ भने म त्यो पैसा अहिले फिर्ता गर्छु ।
० पीडक जेल जाँदा न्यायको अनुभूति हुन्छ ?
– विवाहको प्रलोभन देखाएर म माथि बलात्कार भएकै हो । पीडक जेल जाँदा मात्र मलाई न्यायको अनुभूति हुन्छ भनेकी छैन । मूल कुरा पीडकले गल्ती महसुस गर्नैपर्छ, जिम्मेवारी लिनुपर्छ । त्यो बेला पीडकलाई कारबाही भएको भए अहिलेसम्म धेरै महिलाहरुले व्यभिचारीहरुबाट अस्मिता लुटाउनु पर्ने थिएन ।
० तपाईंलाई कसरी प्रलोभनमा पारे भन्न मिल्छ ?
– साथीहरुमार्फत् भेट भयो, उसले प्रेम प्रस्ताव राख्यो । सुरुमा मैले स्वीकार गरिन्, तर उसले निक्कै फकायो । सर्टिफिकेट नै देखाएर म डाक्टरजस्तो मान्छे त्यस्तो गलत नसम्झ भनेर कन्भिन्स गर्यो । म विस्तारै कन्भिन्स हुँदै गएँ, हाम्रो भेटघाट बाक्लिदै गयो । भेटघाट बाक्लो भएसँगै हाम्रो शारीरिक सम्बन्ध भयो । शारीरिक सम्बन्धपछि मलाई प्रेमको नाटक गरेको आभास भयो । त्यसपछि म टाँढिन थाले । अन्ततः मैले उसलाई छाडें । उबाट म टाढा बस्न थालेँ । टाढा बसेको एक डेढ महिनापछि म गर्भवती भएको थाहा पाएँ । थाहा पाइसकेपछि फेरि म उसको सम्पर्कमा पुगें । त्यसपछि उसले एर्भसन गर्नुपर्छ भन्यो । एर्भसन गर्न म तयार थिइनँ । एबर्सन गरेको भए म कानुनको नजरमा अपराधी हुन्थे, त्यसपछि बाबु पुष्टि गर्ने आधार पनि नष्ट हुन्थ्यो ।
प्रमाण जुट्छ कि भनेर म डाक्टरकहाँ गएँ । दुईवटा डाक्टरकहाँ पुगेँ, फलानो मेरो बच्चाको बाउ भन्दा ती डाक्टर अच्चमित भए । एभर्सनका लागि दुईपटक म डाक्टरकहाँ गएको हो । तर मेरो इच्छा एभर्सन थिएन ।
० त्यसपछिका दिन ?
– एभर्सन नभएपछि ऊ भाग्यो । कहाँ पुग्यो थाहा भएन । बच्चा पेटमा विस्तारै बढ्दै गयो । माइतीको संरक्षणमा बसें । न्यायका लागि महिला आयोगमा पुगें, दुर्गा पोखरेलसँग भेट भयो । उहाँले नै बच्चा पेटमा हुँदा आश्रय दिने मान्छे खोजिदिनुभयो । बाहिरै बसेर बच्चा जन्माएँ ।
त्यो बेला पीडकलाई कारबाही भएको भए अहिलेसम्म धेरै महिलाहरुले व्यभिचारीहरुबाट अस्मिता लुटाउनु पर्ने थिएन ।
० दाजुभाइबाट पनि अपहेलना भएको हो ?
– दाजुभाइ मात्र नभएर समाजले नै मलाई टर्चर दिएको थियो ।
० यी दुःखी घटनासँग जीवनको गोरेटोले कसरी मोड लियो ?
– जर्बजस्ती लतारिनुपर्ने जीवन चल्दै थियो । स्कुलमा शुल्क बुझाउन नसक्दा कुटाइ खाएर शरीरभरि नीलडाम लिएर मेरो बच्चा घर आएको घटना अहिले पनि मेरो मानसपटलमा ताजै छ । जागीर खाँदै, पढ्दै छोरी पढाउँदै गरें । भाग्यवस् जागीर राम्रो ठाउँमा पाएँ । बच्चालाई पनि राम्रोसँग पढाउन सकें । हामी आमा छोरी एकअर्कामा खुशी थियौं, तर समाजबाट टाढा भयौं ।
० यूरोपसम्मको यात्रा चाँही कसरी सम्भव भयो ?
– ठ्याक्कै तिथिमिति चाहिँ थाहा छैन । कोभिडभन्दा अगाडि ७–८ महिना पहिले नै मेरो जागीर ब्रेक भएको थियो । दाजुले साथीको ट्राभल कम्पनीमा काम गर्छौ ? भनेर सोध्नुभयो । अलिकति धेरै पैसा कमाउने भइसकेको थिएँ, थोरै पैसा हो भने म काम गर्न जान्नँ भनें । ‘३ महिना मात्रै भएपनि मेरा लागि गर्देउ’ दाजुले भन्नुभयो । नकार्न नसकेर मैले ३ महिनाका लागि काम गर्न थालेँ ।
दुई महिनासम्म मलाई कामै दिएनन् । एकदमै अल्छी लाग्यो, फ्रस्टेशन नै भयो । तेस्रो महिना उनीहरुको टुरिस्टहरु आउने रहेछन् । १२ जनाको टुरिस्ट ग्रुप थियो । घुमाउन लिएर गएँ । चिया खाने ठाउँमा सबै आ–आफ्नो पार्टनरसँग चिया खान थाले । एकजना चाहिँ टोलाइराखेको देखें । तपाईंको बुढी खोइ ? भनेर सोधें । मैले विवाह नै गरेको छैन भन्ने जवाफ पाएँ । किन नगरेको भनेर सोधें, बिजनेस गर्दागर्दै भ्याइन, अब विवाह गर्ने इच्छा पनि छैन उमेर पनि छैन भन्नुभयो । मेरो काकाले ६० वर्षमा विवाह गर्नुभएको उदाहरण दिएँ । एक्लो जीवन जिउन हुँदैन, कुराकानी सेयर गर्ने मान्छे चाहिन्छ भनेँ ।
यति कुरा भनेपछि उहाँ मसँग नजिक हुनुभयो । पोखरा जाँदा मैले उहाँको केयर गर्नुपर्ने, उहाँले मेरो बढी केयर गर्न थाल्नुभयो । चितवन जाँदा पनि उहाँको व्यवहार त्यस्तै रह्यो । पछि फर्केर आउँदा मलाई ल्यापटप उपहार दिनुभयो । यद्यपि मेरो अफिसबाट महँगो उपहार लिन पाइँदैन थियो ।
हामी सम्पर्कमै थियौं । उहाँले मेरो देश हेर्न आउ भन्नुभयो । तपाईंले स्पोन्सर गर्दैमा तपाईंको देशले मलाई त्यत्ति सजिलै आउन दिँदैन भनँे । तपाईं पनि एक्लै हुनुहुन्छ, म पनि एक्लै हो, विवाहका लागि सोच्नु हुन्छ भने म तयार छु भनेँ । विवाहसम्बन्धी नेपालको वस्तुस्थिति पनि उहाँलाई बुझाएँ । उहाँले हुन्छ भन्नुभयो र हामीले गएको डिसेम्बरमा विवाह गरेका हौं ।
० श्रीमानलाई पुराना कुरा सुनाउँदा तपाईंलाई अप्ठ्यारो पर्दैन ?
– मैले कल्पनै नगरेको संसारमा आइपुगें । यहाँका मान्छेहरु एकदमै बुझ्ने हुँदा रहेछन् । यो कुरा लिएर अब हिड्नु हुँदैन, तिमीलाई अब केही अभाव हुँदैन भन्नु हुन्छ । म काम गर्न पनि जान्न । म हाउसवाइफ हो । बेलायतमा हाउसवाइफ भएर बस्ने मान्छे एकदमै भाग्यमानी मानिदो रहेछ । त्यो भाग्यमानी मध्येको म पनि एक हुँ । मलाई अहिले पैसा, धनसम्पत्ति र मायाको खाँचो छैन ।
तर, ती पुराना कुराले मलाई पीडा दिँदा लेखिराख्न मन लाग्छ । नेपालमा यस्ता बलात्कारका घटना सार्वजनिक हुँदा आफैलाई पीडा भएको महसुस हुन्छ । पल काण्ड आयो, त्यसपछि सुन्दरी प्रतियोगितामा बलात्कार काण्ड आयो । यी काण्ड आएपछि त मलाई न्याय प्राप्त भएको छैन भनेर टुईट गरें । डा. बाबुराम भट्टराईलगायत धेरैबाट रिटुईट प्राप्त भयो ।
यस्ता कुरा राख्दा मलाई कारबाही हुन्छ होला । तर मैले यस्ता कुरा राख्नुपर्छ भनेर यी विगतका कुरा सार्वजनिक गर्ने आँट गरेकी हुँ ।
० पल काण्डपछि यस्ता घटना सार्वजनिक गर्ने आँट आएको हो ?
– मलाई मेरो विगत बाहिर ल्याउन आँट आएको होइन, पल काण्डमा पीडितलाई ऊर्जा थप्ने काम गरेकी हुँ । म पनि यो फेजबाट गुज्रिएको हो, त्यो फेजबाट गुज्रिए पनि हिम्मत हारिएन, पछि हटिएन भने पूर्ण न्याय नपाए पनि यतिसम्म हुनसक्छ भनेर बाटो देखाइदिएकी हुँ ।
० यति धेरै संघर्ष गर्नुभयो, महिलालाई के सन्देश दिन चाहनुहुन्छ ?
– सबैभन्दा पहिला शिक्षा चाहिन्छ । शिक्षाले मलाई धेरै कुरामा सहयोग पुगेको छ । आत्मनिर्भर हुन रोजगार बन्नुपर्छ । महिलाको रोजगारका लागि सरकारले नै जिम्मेवारी लिनुपर्छ । मैले लिखित परीक्षा र अन्तर्वार्ता फेस गरेर जागीर खाएकी हुँ । मजस्तै सबै महिला सक्षम हुँदैनन् । यति भन्छु, पढाई चाहिँ जसरी भए पनि पूरा गर्नुपर्छ । यसले अन्यायबिरुद्ध लड्न साहस दिन्छ ।
प्रतिक्रिया