चीनबाट ५० टन आपत्कालीन राहत सामग्री र ४ सुरुङ उद्धार विज्ञ नेपाल आइपुगे

चीनबाट ५० टन आपत्कालीन राहत सामग्री र ४ सुरुङ उद्धार विज्ञ नेपाल आइपुगे


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न चीनले ५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना सुरुङ उद्धार विज्ञ नेपाल पठाएको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला सैन्य परिवहन विमान राहत सामग्री लिएर आइतबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ती विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विज्ञ र उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ।

विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए। सो अवसरमा नेपाल आएको चिनियाँ उद्धार विज्ञ टोलीलाई स्वागतसमेत गरिएको थियो।

चीनको छेङ्दु श्वाङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुई विमान करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका हुन्।

चीनले उपलब्ध गराएको राहत सामग्रीमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, तयारी खाद्य सामग्री र प्राथमिक उपचार किटसहित १३ हजार २०० सामग्री रहेको जनाइएको छ। ती सामग्रीको कुल तौल ५० टन रहेको छ।

भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी छ। विशेषगरी बाढी र लेदोका कारण प्रभावित सुरुङ तथा अन्य कठिन क्षेत्रमा भइरहेको उद्धार कार्यका बीच चीनबाट सुरुङ उद्धारसम्बन्धी विज्ञ र उपकरण नेपाल आएका हुन्।