सुरुङभित्र उद्धारको प्रयास तीव्र, शव फेला पर्नेक्रम जारी

सुरुङभित्र उद्धारको प्रयास तीव्र, शव फेला पर्नेक्रम जारी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा तथा आसपासका क्षेत्रमा नेपाली सेनाले हवाई र जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। बाढी आएको भाद्र १० गतेदेखि सोमबार बिहानसम्म सेनाले स्थल तथा हवाई माध्यमबाट ३ हजार ५९६ जनाको उद्धार गरेको छ।

उद्धार गरिएकामध्ये ३३८ जना विदेशी नागरिक रहेको नेपाली सेनाले जनाएको छ। विपद्पछि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमसम्मका प्रभावित क्षेत्रमा सेनाको ठुलो जनशक्ति परिचालन गरिएको छ।

सेनाका अनुसार ती क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन्। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपतकालीन उपचार लगायतको काम गरिरहेका छन्।

सुरुङभित्र जीवन खोजिदै
बाढीका कारण सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजीका लागि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार प्रयास थप तीव्र पारिएको छ। सोमबार बिहान करिब २ बजे सुरुङको अवरोध हटाउन कन्ट्रोल ब्लास्ट गरिएको सेनाले जनाएको छ। त्यसपछि दुईवटा एक्स्काभेटरलाई करिब १० मिटर तलसम्म लगेर होल बनाउने तथा सुरुङभित्र जमेको पानी, हिलो र लेदो हटाउने काम भइरहेको छ।

सुरुङभित्रको भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। त्रिशूली–३ ‘बी’ को सुरुङमा पनि विज्ञसहितको सैनिक टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ । त्यस्तै, विदेशी विशेषज्ञ सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्दा त्यसभन्दा भित्री भाग हिलोमाटोले पुरिएको अवस्थामा फेला पारेको छ।

खोजीका क्रममा त्यहाँबाट दुई वटा शव सङ्कलन गरिएको सेनाले जनाएको छ। अपर त्रिशूली –१ को सुरुङमा उद्धार टोली करिब ३०० मिटर भित्रसम्म प्रवेश गरी खोजी गरेको छ। सो क्रममा एक शव सङ्कलन गरिएको छ। लाङटाङ सुरुङमा पनि उद्धार टोली प्रवेश गरी ‘सर्च लाइट’ प्रयोग गरेर खोजी कार्य गरिरहेको छ।

जङ्गल बस्ती र खोलामा खोजी
सुरुङबाहेक प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा पनि पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य सञ्चालन भइरहेको छ। स्थानीयवासीसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको अवस्था बुझ्ने, उद्धारको आवश्यकता मूल्याङ्कन गर्ने तथा सुरक्षा प्रत्याभूति दिलाउने काम भइरहेको सेनाले जनाएको छ।

स्याफ्रुबेसी क्षेत्रमा राहत तथा राशन वितरण गरिएको छ भने लाङटाङ हाइड्रो क्षेत्र आसपास रेकी तथा गस्ती सञ्चालन गरिएको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपतकालीन उपचार केन्द्रबाट हालसम्म २ हजार ६३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ।

२३ टनभन्दा बढी राहत सामग्री
सेनाले हवाई माध्यमबाट धुन्चेलगायत प्रभावित क्षेत्रमा हालसम्म २३ हजार १९४ किलोग्राम राहत सामग्री ढुवानी गरेको छ। बाढी प्रभावित क्षेत्रमा सडक तथा स्थलमार्ग अवरुद्ध भएका कारण तत्काल आवश्यक राहत सामग्री पुर्‍याउन हवाई माध्यमलाई प्राथमिकता दिइएको छ। सुरुङभित्र फसेका व्यक्तिको सम्भावित उद्धारसँगै बाढीले बगाएका तथा बेपत्ता भएका व्यक्तिको खोजी, शव सङ्कलन र व्यवस्थापनलाई पनि सेनाले समानान्तर रूपमा अघि बढाएको छ।