काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बाढीपहिरो प्रभावितको उद्धारमा सरकार असफल सिद्ध भएको बताउँदै प्रधानमन्त्री बालेन शाहलाई अहङ्कार र घमण्ड नदेखाउन चेतावनी दिएका छन ।
आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो चेतावनी दिएका हुन । सरकारले आफ्नो कमजोरी लुकाउनुभन्दा असफलताबाट पाठ सिक्नुपर्ने बताएका छन । संसद्मा बोल्दै दाहालले सरकार उद्धार कार्यमा सफल नभएको जनगुनासो चौतर्फी सुनिएको उल्लेख गरे । उनले भने, ‘हामी कसैले पनि ढाँटेर र लुकाएर हुँदैन, उद्धारमा सरकार असफल भयो ।
सरकारले घमण्ड गर्न छाडेर यसबाट शिक्षा लिनुपर्छ ।’ सुरुङभित्रको उद्धार कार्यमा सरकारको कार्यशैली विरोधाभासपूर्ण रहेको भन्दै उनले आलोचना गरे। सुरुका दुई दिनसम्म हामी आफैँ गर्छौं भन्दै विदेशी विज्ञहरूको सहयोग लिन ढिलाइ गरेको र अन्त्यमा लाचार भएर हात उठाएको उनको भनाइ थियो ।
विपद्को समयमा यस्तो महत्त्वाकांक्षा र अहङ्कार प्रदर्शन हुनु दुःखद भएको उनले बताएका छन । दाहालले उद्धारमा सेना परिचालन गरिए पनि व्यापक जनपरिचालन हुन नसकेको र तीनै तहका सरकारबीच समन्वयको चरम अभाव देखिएको बताएका छन ।
उनले सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मन्त्रीहरूलाई लक्षित गर्दै सबै पक्षलाई विश्वासमा लिएर सहकार्यको वातावरण बनाउन आग्रह समेत गरेका छन ।
विगतको कमजोरीलाई सच्याउँदै अब राहत, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा गम्भीरता देखाउन उनले सरकारको ध्यानाकर्षण गराए। संयोजक दाहालले राष्ट्रिय एकता र समन्वयको नेतृत्व गरेर आफ्नो औचित्य सिद्ध गर्ने मौका अझै बाँकी रहेकाले सरकारलाई संवेदनशील हुन सुझाव समेत दिएका छन ।


प्रतिक्रिया