गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोबाट पक्राउ

गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोबाट पक्राउ


ग्लोब नेपाल
0
Shares

वीरगञ्ज । शनिवार राति सरकारी सवारीसाधन लिएर क्यासिनो पुग्नुभएका पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवलाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेको पुष्टि गरे ।

हामी नियमित रुपमा गरिने छड्के चेकजाँचको क्रममा वीरगञ्ज–गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट यादव पक्राउ परेका हुन् । क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जना नेपालीलाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसहित गाउँपालिका अध्यक्ष यादवलाई शनिबार राति करिब ११ बजे नियन्त्रणमा लिएको थियो ।

नेपालमा नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध गरिएको छ । वीरगञ्जका सुरज होटेलमा एकवटा, सिद्धार्थ दियालो होटलमा दुईवटा, सरोवरमा तीनवटा, क्लार्क रिसोर्ट होटलमा एउटा क्यासिनो सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए । होटल भिस्वालगायत केही अन्य होटलमा क्यासिनो भएता पनि हाल सञ्चालनमा नरहेको उनले स्पष्ट पारे ।