भरतपुर-काठमाडौँ उडानमा यात्रुको उच्च चाप

भरतपुर-काठमाडौँ उडानमा यात्रुको उच्च चाप


ग्लोब नेपाल
0
Shares

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भासिएर अवरुद्ध बनेपछि भरतपुर-काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै सङ्ख्या बढाएर ११ वटासम्म पुर्‍याइएको छ । दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्‍याइएको उनले जानकारी दिए।

यहाँबाट काठमाडौँ आवतजावत गर्ने ‘एटिआर ७२’ जहाज हो । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौँ जाँदा ५० जना यात्रु ओसार्ने गर्दछ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।

कृष्ण भिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उनले बताए । यहाँ चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, मकवानपुरबाट समेत यात्रु आउने गर्दछन् ।

एयरलायन्सले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरेको जनाएको छ ।