ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार नजिकै मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया काठ बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान करिब २:४० बजे मैवाखोलाको पुल छेउबाट सडकभन्दा २० मिटर तल खोलामा खसेको हो।
दुर्घटनामा परी ट्याक्टर चालक समीर बराइली र सवारीमा रहेका अनिल नाल्बो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूलाई खोलाले बगाएको अनुमान गरिएको दोभान इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शिवकुमार मण्डलले जानकारी दिए।
बेपत्ताहरूको खोजीका लागि बिहानैदेखि दोभानका स्थानीय बासिन्दा र प्रहरी टोली खटिएका छन्। खोजी कार्यलाई तीव्रता दिन सदरमुकाम फुङलिङबाट थप प्रहरी टोलीसमेत परिचालन गरिएको छ।


प्रतिक्रिया