किभ। रुससँगको जारी युद्धका बिच युक्रेनी सरकारले देशको ‘एडल्ट कन्टेन्ट’ (वयस्क-केन्द्रित सामग्री) उद्योगलाई कानुनी दायरामा ल्याउने र त्यसमा कर लगाउने विषयमा विचार गरिरहेको छ।
‘द वाल स्ट्रिट जर्नल’ का अनुसार यसबाट सरकारका लागि वार्षिक करिब २ करोड ५० लाख डलर अर्थात करिब ४ अर्ब १६ करोड नेपाली रुपैयाँ बराबरको अतिरिक्त राजस्व सङ्कलन हुन सक्छ। युक्रेनका एक सांसदका अनुसार उक्त रकमबाट करिब ३० हजार सैन्य ड्रोनहरू खरिद गर्न सकिन्छ।
युक्रेनमा अश्लील सामग्री (पोर्नोग्राफी) लाई अझैसम्म पूर्ण कानुनी मान्यता दिइएको छैन। यसलाई कानुनी दायरामा ल्याउनुको उद्देश्य सरकारी राजस्व बढाउनु मात्र नभई भ्रष्टाचार नियन्त्रण गर्नु पनि हो। यस प्रस्तावका पक्षधरहरूको तर्क छ कि यसले प्रहरीलाई वयस्क-केन्द्रित सामग्रीसम्बन्धी मुद्दाहरूमा भन्दा गम्भीर प्रकृतिका अपराधहरूमा ध्यान केन्द्रित गर्न सघाउ पुर्याउनेछ।
हाल कानुनी कारबाहीको डरले गर्दा यस उद्योगको ठूलो हिस्सा गोप्य रूपमा सञ्चालित छ।
युक्रेनी संसद्ले जुलाईमा पहिलो चरणको छलफलमा यो विधेयक पारित गरिसकेको छ र अब यसलाई दोस्रो चरणको छलफलका लागि पेस गर्ने तयारी गरिएको छ। पहिलो चरणको मतदानमा २३१ सांसदले विधेयकको पक्षमा र ८ जनाले विपक्षमा मतदान गरेका थिए भने ३ जना तटस्थ रहेका थिए।
युक्रेनमा वयस्क-केन्द्रित अनलाइन सामग्रीको व्यवसाय तीव्र गतिमा बढेको छ। ‘ओन्ली फ्यान्स’ जस्ता प्लेटफर्महरूमा ठूलो सङ्ख्यामा युक्रेनी सिर्जनाकर्ताहरू सक्रिय छन्। ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार सन् २०२३ मा युक्रेनीहरूले ओन्ली फ्यान्स मार्फत १३ करोड १० लाख डलरभन्दा बढी कमाएका थिए।
युक्रेनको वर्तमान कानुनअनुसार अश्लील सामग्रीको उत्पादन र वितरण गैरकानुनी मानिने भएकाले सिर्जनाकर्ताहरूका लागि आफ्नो कमाइमा कर तिर्न सहज छैन। यदि उनीहरूले सरकारसमक्ष आम्दानीको विवरण बुझाएमा उनीहरूको पहिचान सार्वजनिक हुने र कानुनी कारबाहीको दायरामा आउने जोखिम रहन्छ।
वयस्क सामग्री निर्माता स्वेतलाना ड्वोर्निकोभाले हालसम्म करिब ९ लाख अमेरिकी डलर बराबरको कर तिरिसकेको दाबी गर्दै यस उद्योगलाई पूर्ण कानुनी मान्यता दिएर कर सङ्कलन गरेमा युद्धका लागि आवश्यक अतिरिक्त रकम जुटाउन सकिने बताएकी छन्। उनले यसअघि नै युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको आधिकारिक वेबसाइटमा यसबारे निवेदन समेत दर्ता गराएकी थिइन्।


प्रतिक्रिया