प्रधानमन्त्रीको भ्रमण सफल पार्न रास्वपा गृहकार्यमा

प्रधानमन्त्रीको भ्रमण सफल पार्न रास्वपा गृहकार्यमा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन जाने तय भएसँगै त्यहाँ उठाउने कार्यसूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहकार्य सुरु गरेको छ । शाह पार्टीका वरिष्ठ नेता हुन् ।

महासभामा नेपालको तर्फबाट उठाउने विषयबारे सरकारको संरचनाभित्र र पार्टीको संरचनाभित्र छलफल थालिएको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

प्रवक्ता खरेलले भने, “जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति भोग्नु परेको अहिलेको अवस्थामा नेपाललाई क्षतिपूर्तिका साथै ‘क्लाइमेट जस्टिस’ पनि चाहिएको छ । भोटेकोशी बाढीको विपत्तिबाट हजारौँ जनधनको क्षति भएको छ ।

नेपाललाई विश्व समुदायको सहायताभन्दा पनि क्षतिपूर्ति र न्याय चाहिएको अवस्थामा अन्तर्राष्ट्रिय जगत्मा के कुरा कसरी उठान गर्ने भन्नेबारेमा सरकारको संरचना र पार्टीको संरचनाभित्र छलफल थालेका छौँ ।”

भोटेकोशी हिमबाढीको विपत्ति, सोका कारण खर्बौंको सम्पत्ति र ठुलो सङ्ख्यामा भएको मानवीय क्षतिको विषय, नेपालको हिमालय शृङ्खलामा रहेका अन्य हिमताल पनि फुट्ने जोखिमलगायतका विषयलाई कसरी विश्व समुदायसमक्ष प्रस्तुत गर्ने भन्ने विषयमा पार्टीमा छलफल गरेर प्रधानमन्त्रीलाई सुझाव दिनेबारे तयारी थालिएको हो ।

जलवायु परिवर्तन र त्यसले नेपालमा परेको असरलाई मूल मुद्दा बनाएर पार्टी र सरकारले सँगसँगै गृहकार्य गरेर अघि बढ्न लागिएको खरेलले बताए । प्रधानमन्त्री शाहले असोज ८ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।