देउवासँग संवादका लागि ४ पटक समय माग्दा पनि भेट हुन सकेन: गगन

देउवासँग संवादका लागि ४ पटक समय माग्दा पनि भेट हुन सकेन: गगन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको मतभेद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद गर्न प्रयास गरे पनि भेटवार्ताको समय प्राप्त हुन नसकेको बताएका छन्।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले देउवाको सचिवालयमार्फत चार पटक भेटका लागि समय माग्दा पनि भेट हुन नसकेको जानकारी गराएको बैठकमा सहभागी एक नेताले बताए।

थापाले देउवासँग प्रत्यक्ष संवादको वातावरण बनाउन खोजे पनि उनको सचिवालयबाट समय उपलब्ध नगराइएको भन्दै यसले पार्टीभित्रको एकता र सहकार्यको प्रयासमा प्रश्न उठाएको बताएका थिए।

बैठकमा थापाले देउवा निकट नेताहरूबाट समेत संवादका लागि अपेक्षित पहल नभएको जानकारी गराएको ती नेताको भनाइ छ। देउवा पक्ष संवादमा सहभागी हुन इच्छुक नदेखिएको उनको बुझाइ रहेको बताइएको छ।

यद्यपि, सभापति थापाले अन्य प्रभावशाली नेताहरूसँगको वार्ताबारे भने सकारात्मक जानकारी गराएका छन्। उनले पूर्णबहादुर खड्का र डा। शेखर कोइरालासँग भएको संवादलाई उपलब्धिमूलक रहेको बताएका थिए।

ती नेताहरूसँग भएको छलफलले पार्टीभित्र सहमति निर्माणमा सहयोग पुगेको थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले बताए। त्यसकै परिणामस्वरूप क्रियाशील सदस्यता अद्यावधिक नभएका सदस्यलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था गर्ने निर्णय गरिएको जानकारी बैठकमा दिइएको थियो।

पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँगको संवादमा महाधिवेशनमा सहभागितासम्बन्धी विषय प्रमुख रूपमा उठेको र उनीहरूको सरोकारलाई सम्बोधन गर्ने गरी निर्णय गरिएको थापाको ब्रिफिङ रहेको बताइएको छ।

पार्टीभित्र देखिएका मतभेद समाधानका लागि विभिन्न पक्षबीच संवाद र सहमतिको प्रयास जारी रहे पनि देउवा पक्षसँग प्रत्यक्ष वार्ता हुन नसकेको विषयले काँग्रेसको आन्तरिक राजनीतिक समीकरणमा थप चासो बढाएको छ।