उद्योगमन्त्री यादवसँग प्रधानमन्त्री रुष्ट

उद्योगमन्त्री यादवसँग प्रधानमन्त्री रुष्ट


ग्लोब नेपाल
162
Shares

काठमाडौं। उद्योगीलाई पाता नफर्काएसम्म सर्वसाधारणले खाना पकाउने ग्यास सजिलै पाउँदैनन् भन्ने अभिव्यक्ति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई महँगो पर्ने देखिएको छ । यादवले प्रतिनिधिसभाको उद्योग समितिको बुधबारको बैठकमा  ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनेकी थिइन् । 

मन्त्री यादवको सो अभिव्यक्तिको नेपाल उद्योग वाणिज्य महासंघले कडा शब्दमा निन्दा गर्दै आपत्ति जनाएको छ ।

ग्यास आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गरी उपभोक्तालाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने संवेदनशील समयमा सम्पूर्ण उद्योगी–व्यवसायीलाई दोषी देखाउने तथा उद्योगीहरूविरुद्ध अभिव्यक्ति आउनु अत्यन्तै आपत्तिजनक, गैरजिम्मेवार र दु:खद् भएको महासंघको धारणा छ।

भोटेकोसी बाढीपछि पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ग्यास बुलेटको ढुवानीमा समस्या उत्पन्न भएको यथार्थबीच मन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले विपद्स मयमा सरकारसँग हातेमालो गर्दै राहत, उद्धार तथा अत्यावश्यक वस्तुको आपूर्तिमा जुटिरहेका उद्योगी–व्यवसायीको मनोबल कमजोर बनाउने महासंघको ठहर छ।

प्राकृतिक विपद्, महामारी तथा अन्य संकटका समयमा समेत निजी क्षेत्रले सरकारसँग सहकार्य गर्दै राहत, उद्धार, पुनर्स्थापना तथा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर योगदान गर्दै आएको छ। यस्तो अवस्थामा सरकारलाई सहयोग गर्दै आएको निजी क्षेत्रलाई नै सार्वजनिक रूपमा लाञ्छित गर्ने अभिव्यक्तिले उद्योगी–व्यवसायीको मनोबलमा नकारात्मक असर पार्नुका साथै सरकार र निजी क्षेत्रबीचको विश्वासमा समेत असर पुग्न सक्ने महासंघले जनाएको छ।

नेपाल ग्यास उद्योग संघले समेत उद्योगमन्त्री यादवको अभिव्यक्तिको आलोचना गरेको छ । संघले मन्त्री यादवले माफी नमागे आन्दोलनको चेतावनी दिएको छ । यादवको अभिव्यक्तिप्रति प्रधानमन्त्री वालेन्द्र शाह नै असन्तुष्ट रहेको बताइन्छ । बालेनका सचिवालयमा रहेका विशाल अधिकारीले नेपाल ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, पूर्वअध्यक्षहरु शिवप्रसाद घिमिरे र गोकुल भण्डारीसँग छलफल गरेका छन् । उनले ग्यास आपूर्तिमा सहयोग भइरहेको भन्दै अझै सक्रिय भएर लाग्न आग्रह गरेका थिए।

अधिकारीले कृष्णभीरकै कारण सानो गाडीमा ग्यास ल्याउँदा परिरहेको बढी भाडावाहेक अरु नजोडी आपूर्ति व्यवस्थापन गर्न आग्रह गरेका थिए। स्रोतका अनुसार अधिकारीले ग्यास आपूर्तिमा समस्या भएमा सोझै प्रधानमन्त्री कार्यालयमा जानकारी गराउनसमेत भनेका थिए। छलफल अनुसार त्रिभुवन राजपथमा बुधबार साँझ पहिरो गएको जानकारी पनि उद्योगीहरुले प्रधानमन्त्री कार्यालयमै गराएका थिए।