काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाएको टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान जान नसकेको उनले बताए ।
दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाइ छ । सरकारले आफैँ उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्ने उनले बताए ।
‘प्रधानमन्त्रीले कतातिर जाने भन्ने निर्णय गर्ने हो । कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । मेरो बुझाइमा अहिलेको प्रधानमन्त्री निजी क्षेत्रलाई मन पराउनुहुन्न’, थापाले भने ।
उनले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूलाई हेर्दा आफूले यस्तो निष्कर्ष निकालेको बताए ।
‘मैले अनुमानको आधारमा भनेको होइन । अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्ति र निर्णयहरू त्यस्तै छन् । मैले अस्ति पार्टीको केन्द्रीय समितिको बैठकमा पनि लामो समय लिएर यसबारे भनेको छु’, उनले भने ।
सरकारी उद्योग सञ्चालनको विषयमा भने आफूले विरोध नगरेको स्पष्ट पार्दै थापाले ती उद्योग चलून् र मुनाफा कमाऊन् भन्ने आफ्नो शुभेच्छा रहेको बताए । तर, राज्य सञ्चालन गर्ने व्यक्तिले समग्र अर्थतन्त्रको अवस्था र त्यसको दिशाबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनको भनाइ छ ।
‘दुग्ध विकास संस्थान, हेटौँडा कारखाना र नेपाल औषधि लिमिटेडका कारखाना चलून्, मुनाफा कमाऊन् भन्ने मेरो शुभेच्छा छ । त्यसबारेको टिप्पणी होइन । तर राज्य चलाउने मान्छेले आजको दिनमा राज्यको अर्थतन्त्र कस्तो छ भनेर हेर्नुपर्छ’, उनले भने ।
थापाले २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गरे । प्रधानमन्त्रीले कुन आर्थिक बाटो रोज्छन् भन्ने कुराले देशलाई कुन दिशामा लैजाने भन्ने निर्धारण गर्ने उनले बताए ।
तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए नेपालको आर्थिक विकासको आधार निर्माण हुन नसक्ने दाबी गर्दै थापाले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया