काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा गएका छन् । द्विपक्षीय वार्ता तथा चीनद्वारा आयोजित १३औं बेइजिङ सिय्याङसान फोरम मा सहभागी हुन उनी आइतबार बेइजिङ प्रस्थान गरेका हुन् । उनी ३ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।
फोरम ३०, ३१ भदौ तथा १ असोजमा बेइजिङमा आयोजना हुनेछ । प्रधानसेनापति दुई दिनअघि नै बेइजिङ गएर सैनिक नेतृत्व तथा रक्षा मन्त्रालयका अधिकारीहरुसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
प्रधानसेनापति सिग्देल गत वर्ष नै चीन जाने कार्यक्रम तय भए पनि जेनजी आन्दोलनका कारण उनको भ्रमण रोकिएको थियो । बेइजिङमा हरेक वर्ष हुने सुरक्षासँग सम्बन्धित यो कार्यक्रममा यो वर्ष अमेरिकी सैनिक अधिकारीहरु पनि सहभागी हुने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ग्लोबल टाइम्सका अनुसार यसपालि चौथो चीन–अफ्रिका शान्ति तथा सुरक्षा फोरम आयोजना हुँदैछ । चाइना एसोसिएसन फर मिलिटरी साइन्सले यो कार्यक्रम आयोजना गर्दैछ ।
यसपालि जापानका पूर्वप्रधानमन्त्री युकिओ हातोयामा ,युरोपेली संसद्का पूर्वउपअध्यक्ष रिचार्ड चार्नेकी र सांघाइई सहयोग संगठन (एससिओ) का पूर्वमहासचिव भ्लादिमिर नोरोभसहित करिब २०० जना विशेषज्ञ तथा विद्वानहरू फोरममा सहभागी हुने भएका छन् ।
अन्तर्राष्ट्रिय व्यवस्था र रणनीतिक स्थायित्व: स्थानीय द्वन्द्व: संकट र समाधानका मार्गहरू (एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा र स्थायित्वका जोखिम तथा चुनौतीहरू) र विकासोन्मुख देशहरूको भूमिका र दृष्टिकोणबारे शत्रमा छलफल हुनेछन् ।
यसैगरी, बहुध्रुवीयता र अन्तर्राष्ट्रिय व्यवस्था, प्रमुख शक्तिहरूबीचको सम्बन्ध र रणनीतिक स्थायित्व, सुरक्षा चुनौतीहरू सम्बोधन गर्ने एशियाली दृष्टिकोण, र अन्तर्राष्ट्रिय हतियार नियन्त्रणले सामना गरिरहेका नयाँ चुनौतीहरू जस्ता विषयहरूमा पनि बेग्लै छलफल हुनेछ ।


प्रतिक्रिया