देउवा पक्षले नसोधी जिल्ला प्रतिनिधि बनाएको भन्दै आपत्ति

देउवा पक्षले नसोधी जिल्ला प्रतिनिधि बनाएको भन्दै आपत्ति


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नै पक्षका नेताहरुलाई सोध्दै नसोधी जिल्ला प्रतिनिधि बनाएको पाइएको छ । समानान्तर अधिवेशन गर्न भन्दै खटाइएका प्रतिनिधिहरुमध्ये धेरैले आफूहरुलाइ झुक्याएर नाम राखिएको भन्दै आफ्नो नाम फिर्ता लिएका छन् । 

आफूहरुलाई जानकारी नै नदिइ समानान्तर अधिवेशनका लागि खटाइएको उनीहरुको भनाइ छ । आफूहरु समानान्तर अधिवेशनको पक्षमा नरहेकाले देउवा पक्षले गर्न लागेको अधिवेशनमा सहभागी नहुने उनीहरुले स्पष्ट पारेका छन् । 

देउवा पक्षद्वारा तेह्रथुम खटाइएकी पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य सीता गुरुङ, पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराई, पाल्पाका लागि केन्द्रीय प्रतिनिधि तोकिएका कृष्णप्रसाद बस्याललगायतले आफूहरु समानान्तर अधिवेशनमा नलाग्ने जनाएका हुन् । 

पूर्वमन्त्री गुरुङले आफू सधैं रुख र चारतारे झण्डा भएको कांग्रेसमा रहेकाले आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधि नगर्ने बताएकी छिन् । नेता भट्टराईले पनि आफ्नो सहमति र जानकारीबिनै इतर पक्षले केन्द्रीय प्रतिनिधिका रूपमा आफ्नो नाम सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेता बस्यालले पनि आफ्नो नाम इतर समूहको केन्द्रीय प्रतिनिधिको सूचीमा समावेश भएको विषयमा आफू स्वयं आश्चर्यमा परेको बताए । ‘इतर पक्षबाट अधिवेशनहरू सम्पन्न गर्न खटाइएका केन्द्रीय प्रतिनिधिको सूचीमा मेरो नाम राखिएको रहेछ । त्यसप्रति भ्रममा नपर्न पार्टीका साथीहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

देउवा पक्षको सबैभन्दा ठुलो खम्वा मानिदै आएका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा अर्का प्रभावशाली नेता रामहरि खतिवडालगायत दर्जनो नेताहरुले यसअघि नै सँस्थापन पक्षको महाधिवेशनमा सहभागी हुने निर्णय गरिसकेका छन् । 

इतर पक्षले समानान्तर अधिवेशन गर्न भन्दै केन्द्रीय प्रतिनिधि तोकेका देउवा पक्षकै अन्य नेताहरुले पनि देउवा पक्षको अधिवेशनमा सहभागी नभई संस्थापन पक्षले गर्न लागेको अधिवेशनमा सहभागी हुने घोषणा गरेका छन् । संस्थापन पक्षले आगामी असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरेर असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्न लागेको छ ।