छोराको मोबाइल बन्द, घरमा सम्झना मात्रै

छोराको मोबाइल बन्द, घरमा सम्झना मात्रै


ग्लोब नेपाल
0
Shares

तनहुँ । रसुवाको टिमुरेमा भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका भानु नगरपालिका–१, भन्सारका २३ वर्षीय सञ्जिव गुरुङको मोबाइल त्यसयता खुलेको छैन । लामो समयसम्म खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरिसकेको छ । तर, घरमा सञ्जिवका सम्झना भने अझै ताजै छन् ।

सञ्जिवकी आमा पूर्णी गुरुङको आँसु अझै थामिएको छैन । बाटोमा आफ्नो छोराको उमेरका युवा देख्दा उनको मनमा सञ्जिवको झझल्को आउँछ । घरमा मोबाइल बज्दा पनि छोराले फोन गरेको हो कि भनेर ध्यान त्यतैतिर जान्छ ।

“बाटोमा कुनै युवा देख्दा मेरो छोरा आयो कि जस्तो लाग्छ,” पूर्णीले भनिन, “अब त मोबाइल पनि बन्द छ । छोरा छैन भन्ने यथार्थ स्वीकार्न गाह्रो भइरहेको छ ।”

सञ्जिव घुम्नका लागि रसुवा पुगेका बेला टिमुरेस्थित गेस्ट हाउसमा बसेका थिए । भदौ १० गते भोटेकोशीमा आएको बाढीले गेस्ट हाउस नै बगाएपछि उनी सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् ।

सञ्जिवका बुबा प्रताप गुरुङका अनुसार छोराको अवस्था पत्ता लगाउन परिवारले लामो समयसम्म खोजीको आशा गरिरह्यो । खोजीबाट कुनै जानकारी नआएपछि गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरिएको उनले बताए ।

“छोराको अवस्था के भयो भन्ने थाहा पाउन धेरै समय पर्खियौँ,” प्रतापले भने, “खोजी गर्दा पनि केही पत्ता लागेन । अन्ततः संस्कार गर्नुपर्‍यो ।”

भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोमा परी तनहुँका २४ जना नागरिक अझै बेपत्ता छन् । बाढी प्रभावित क्षेत्रमा रोजगारी, भन्सार सुरक्षा, व्यापार तथा भ्रमणका क्रममा पुगेका जिल्लावासी लामो समयदेखि सम्पर्कविहीन छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीमध्ये ३३ जना सम्पर्कविहीन भएको निवेदन परेको थियो । खोजी तथा उद्धारका क्रममा नौ जना सुरक्षित रूपमा परिवारको सम्पर्कमा आएको पुष्टि भए पनि २४ जनाको अवस्था अझै अज्ञात छ ।

बाढीले सञ्जिवलाई परिवारबाट टाढा बनाएको छ । मोबाइलको सम्पर्क टुटेको छ । परिवारले अन्तिम संस्कार पनि गरिसकेको छ । तर, घरका प्रत्येक कुनामा उनका सम्झना अझै बाँकी छन् ।