काठमाडौं । आफूलाई विवादित भनिएकोमा आचार्य श्रीनिवासले आपत्ति व्यक्त गरेका छन । आफूलाई कुन कारणले विवादित भनिएको हो र आफूले के अपराध गरेको हो भन्ने उनले प्रश्न समेत गरेका छन । आज (आइबतार) आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
अदालतबाट सफाइ पाइसकेको विषयमा आफूलाई सधैँ अपमानित गरिरहनुपर्ने अवस्था नरहेको पनि बताए । उनले सांसदहरूलाई आफ्नो हैसियत नबिर्सन चेतावनी दिँदै राजनीति गर्नेहरू जनताप्रति जवाफदेही हुनुपर्ने उल्लेख गरेका छन । उनले भने, ‘राजनीति गर्नेले भाग्न पाउने अवस्था रहने छैन, सुध्रनुस् ।’
जेनजी शहीदहरूको आत्माको शान्तिको कामना गर्दै आयोजित सहिद दिवस कार्यक्रममा धर्मगुरुहरू जेनजीकै अनुरोधमा सहभागी भएको उनको दाबी थियो । जेनजी आन्दोलनका मृतकहरूको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले आफूहरू कार्यक्रममा पुगेको पनि उनले बताए ।
उनले भने, ‘हामीलाई सरकारले नभई जेनजी परिवारले कार्यक्रममा आमन्त्रण गरेको हो, ‘मलाई जन्म दिने आमाको कसम मलाई विवादित भनिरहे म भाषण मात्रै हैन शासनमा पनि आउने छु ।’ जेनजी दिवसको कार्यक्रममा सबै व्यवस्थापन धर्म गुरुहरुले गरिदिएको उनले खुलाए ।
उनी भन्छन्, ‘जेनजीको कार्यक्रममा के देन थियो श्रीनिवासको भन्नुहुन्छ, ‘त्यो दिनको त्यहाँ गृहमन्त्री बस्नुहुने, त्यो टेन्ट, पन्डाल, साउण्ड सिस्टम, त्यहाँको दिनभरिको खर्च, भोलिपल्ट २४ गतेको लागि पनि त्यो मञ्च र त्यो पन्डाल र त्यो साउण्ड सिस्टम, त्यो सारा खर्च ६–७ लाखको त्यो हामी गुरुहरूले गर्दिएको थियौँ ।
शहीद परिवारसँग नहुँदाखेरि उहाँहरूसँग गएर बुझ्दा ‘के सहयोग गरौँ हजुरहरूलाई ?’ भन्दा ‘हामीलाई यो दिनका लागि टेन्ट, पन्डाल र साउन्डको हामीलाई व्यवस्था भैदिए हुन्थ्यो गुरु’ भन्नुभयो । ठीक छ, हामी दान गर्छौँ, सहयोग गर्छौँ’ भनेर हामीले आएर सहयोग गरेको हो ।’
आफू धर्मको नाममा ‘लिने’ नभएर ‘दिने’ गुरु भएको उनले बताएका छन । ‘यति सम्झिनुस्, श्रीनिवास आजसम्म धर्मको नाममा दिने गुरु हो । मैले लिएको कुनै प्रमाण मलाई देखाउनुस् । मैले आजसम्म कसैलाई ठगेको प्रमाण देखाउनुस् । मैले आजसम्म कसैको चेलिबेटीमाथि कुनै गलत दृष्टिले हेरेको कुनै कर्म देखाउनुस् ।
होइन भने मलाई किन विवादित भन्नुहुन्छ ? ममाथि गोली प्रहार पनि हुने, म अन्यायमा पनि पर्ने, राज्यले मलाई अदालतबाट सफाइ पनि दिने, फेरि अनि विवादित पनि भनिने ? मैले कसको के बिगार्दिएँ ?’ ‘तपाईं नेताहरूले बनाउनेभन्दा बेसी सामाजिक सेवा त हामीले गर्या छौँ ।
मैले लगभग दुई–अढाई सयवटा महायज्ञ गरेँ । कति ठाउँमा विद्यालय बनाएँ, कति ठाउँमा क्याम्पस बनाएँ, कति ठाउँमा एम्बुलेन्स किनेँ, कति ठाउँमा खानेपानी बनाएँ, कति ठाउँमा सामाजिक सेवा मठमन्दिर, धर्मशाला र वृद्धाश्रम बनाएँ, त्यसको म रेकर्ड दिनसक्छु ।
जुन तपाईंका नेताहरूले जीवनमा गर्न सक्नुभएको छैन त्यत्रो सामाजिक सेवा ।’ ‘श्रीनिवास त्यस्तो दान मागेर, भीख मागेर हिँड्ने साधु, गुरु होइन ।
मैले पनि बच्चा पालेको छु, मेरो पनि आश्रममा विद्यालय छ, मेरो पनि मठमन्दिर छ । तर म गाईको फारम खोलेर गाईको दूध बेचेर विद्यार्थी पढाउने गुरु हो । म भिक्षा मागेर, भीख मागेर हिँड्ने गुरु होइन । म इलम गरेर, मेहनत गरेर गाईको गौशालामा गाईको गोबर सोरेर गाईको दूध बिक्री गरेर डेरीमा मेरो आश्रममा विद्यार्थीहरू पढाउने गुरु हुँ म। मलाई विवादित के मा‘ के मा भन्नुहुन्छ ?
यो निधारको तिलक, यो भेषभुषा र अनि यो धर्मको कारणले र म राजावादी गुरु भएको कारणले गर्दा मलाई विरोध गर्छन् । हो, म असली एउटा राजालाई समर्थन गर्ने र राजालाई अभिभावक मान्ने म गुरु हो । र म पनि यो देशको नागरिक हो, मैले पनि बोल्न पाउनुपर्छ, मेरो पनि अधिकार हो ।
अमरेशमाथि प्रहारः तपाई रास्वपा फुटाउन आउनुभएको ‘स्वाँठ’ हो
आचार्य श्रीनिवासले संसदमा आफूमाथि प्रश्न उठाउने रास्वपा सांसद अमरेश कुमारलाई कडा प्रहार गरेका छन् । अमरेश रास्वपा फुटाउन आएको उनले आरोप लगाए ।
‘तपाईं यो रास्वपालाई भाँड्न आउनुभएको हो । तपाईं यो रास्वपालाई फुटाउन आउनुभएको हो । तपाईं यो दुई तिहाइको सरकारलाई बिगार्न आउनुभएको हो,’ उनले भने, ‘तपाईं नैतिकता नभएको नेता हो ।
तपाईं नाङ्गिएको, लज्जास्पद नेता हो । किनभने, तपाईं हिजो चेलिबेटीको अगाडि पनि अन्डरवेयर मात्रै लगाएर नाङ्गिएको मान्छे हो संसद भवनभित्र । तपाईं जस्तो नाङ्गिने संस्कार हामी धर्मगुरुहरूमा छैन ।’
क्रान्तिशिखालाई भनेः चाउचाउको कुपन
सामाजिक सञ्जालमा आफूविरुद्ध टिप्पणी गरेकी रास्वपा सचेतक क्रान्तिशिखा धिताललाई पनि श्रीनिवासले बाँकी राखेनन् । उनले भने, ‘एकजना माननीय धितालजीले पनि भन्नुभारैछ । म उहाँलाई के भन्न चाहन्छु भने, ‘तपाईं त चाउचाउको पोकामा चिट्ठा पर्या जस्तो, घण्टी छापको र बालेनजीको ह्विममा तपाईंहरू चुनाव जितेर आउनुभयो ।
तपाईंहरू सांसद को उठ्या भन्ने पनि जनतालाई थाहा थिएन हिजो । तपाईंहरू एउटा चिट्ठा परेर आएको सांसदले विवादित गुरु भन्न हामीलाई सुहाउँदैन ।
तपाईंहरूले के गर्नुभो देशका लागि रु हामीले त हस्पिटल बनाएका छौँ । हामीले एम्बुलेन्स किनेका छौँ । हामीले विद्यालय बनाएका छौँ । हामीले कलेज बनाएका छौँ ।
हामीले खानेपानीको ट्याङ्की बनाइदिएका छौँ । सामाजिक सेवा गरेका छौँ । विद्यालयलाई उच्च माध्यमिकमा पुर्याउनका लागि सप्ताह लगाएर सात दिनसम्म गला सुकाएर आफ्नो देन दिएका छौँ ।
आजसम्म कुनै ठाउँमा धर्मको नाममा, भागवतको नाममा, यज्ञको नाममा दुई पैसा कसैलाई ठगेर हिँड्या छैनौँ । दसौँ लाख, पाँचौँ लाख, बिसौँ लाखको भागवत हामीले गरेर हिँड्या छैनौँ । अघोषित श्रीमती हामीले राखेर हिँड्या छैनौँ । हामी के को विवादित ?’


प्रतिक्रिया