काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको छ । काठमाडौँमा आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि केन्द्रीय समिति बाहिर रहेका सबै पूर्व सदस्यहरूलाई समेट्दै महाधिवेशन आयोजक समितिका रूपमा काम गर्न आह्वान गरेको हो ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार १४ औँ महाधिवेशनबाट निर्वाचित भई विशेष महाधिवेशनपछि समितिमा नरहेका नेताहरूले अब केन्द्रीय सदस्यकै हैसियत पाउनेछन् । यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले १४ औँ महाधिवेशनका निर्वाचित केन्द्रीय सदस्यहरूलाई नयाँ समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए ।
सोही मागबमोजिम संस्थापन पक्षले देउवा नेतृत्वको अघिल्लो समितिमा रहेका सम्पूर्ण नेताहरूका लागि केन्द्रीय समितिमा फर्किने बाटो खुला गरिदिएको हो ।
यसैगरी बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुने १५ औँ महाधिवेशनलाई ’महाउत्सव’का रूपमा मनाउने निर्णय गरेको छ । यसपटक महाधिवेशनका खुला र बन्द सत्र दुवै काठमाडौँको खुलामञ्चमै सञ्चालन गरिने जानकारी प्रवक्ता चालिसेले दिएका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा असोज ४ गतेभित्र देशैभरका वडा अधिवेशनहरू सम्पन्न गरिसक्ने कार्यतालिका तय गरिएको छ । साथै, तल्लो तहको विवाद समाधानका लागि गत पुससम्म नवीकरण भइसकेका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई मान्यता दिने निर्णयसमेत बैठकले गरेको छ ।
पार्टीभित्र आन्तरिक एकता र सहकार्य कायम राख्न संवाद भइरहेको उल्लेख गर्दै कांग्रेसले सम्पूर्ण पार्टी पङ्क्तिलाई महाधिवेशनमा सक्रियताका साथ सहभागी हुन अपिल गरेको छ ।


प्रतिक्रिया