घाँगी भिरबाट धुँवा निस्किएपछि विज्ञ टोली आउँदै

घाँगी भिरबाट धुँवा निस्किएपछि विज्ञ टोली आउँदै


ग्लोब नेपाल
0
Shares

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–६ पेलेगास्थित घाँगी भिरबाट निरन्तर बारुदजस्तो गन्ध आउने धुँवा निस्कन थालेपछि त्यसको अध्ययन गर्न सरकारी विज्ञ टोली आउने भएको छ। खानी तथा भूगर्भ विभागका विज्ञ प्रकाश लुइटेलको नेतृत्वमा अध्ययन टोली नवलपुर आउन लागेको हो। अध्ययन टोलीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को टोलीसमेत सहभागी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ।

सोमबार काठमाडौँको लाजिम्पाटस्थित धौवादी फलामखानी र खानी तथा भूगर्भ विभागमा नवलपुरका सांसद मनीष खनाल र राजन गौतमको टोली पुगेर धौवादी फलामखानी नजिकको पहाडबाट निस्किरहेको धुँवाको मुस्लोबारे जानकारी गराएको थियो। सोहीअनुसार विज्ञ टोली नवलपुर आउन लागेको हो।

पेलेगा गाउँबाट करिब पाँच सय मिटर दक्षिण–पश्चिममा रहेको घाँगी भिरबाट निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ। पेलेगा र भडारी गाउँको बिचमा पर्ने पहाडमा सानो पहिरो गएको स्थानबाट धुँवाको मुस्लो निस्कने र आगलागीसमेत हुने गरेको स्थानीयले बताएका छन्। लामो समयदेखि धुँवा निस्कनुका साथै वरपर डढेलोसमेत लागेपछि स्थानीय त्रसित बनेका छन्।

पहिरो गएको स्थानबाट धुँवा आउनुका साथै कहिलेकाहीँ ठुलो आवाजसमेत आउने गरेको स्थानीय दमबहादुर सोमै मगरले बताए । स्थानीयले बस्तीमा खतरा हुन सक्ने भन्दै धुँवा निस्कनुको कारण तत्काल पत्ता लगाउन माग गरेका छन्। उनीहरूले त्यहाँ कुनै बहुमूल्य ग्यास वा धातुको खानी हुन सक्ने भन्दै त्यसबारे अनुसन्धान गर्न आग्रह गरेका हुन्।