काठमाडौं। सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य र प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालय अनुगमन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुगमन गर्दै आफ्नै गाउँपालिका पुगेपछि झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा धम्कीपूर्ण शैलीमा व्यवहार गरेका उनलाई पक्राउ गरी प्रहरीले पाँच दिनको म्याद समेत थप गरेको छ ।
प्रहरीका अनुसार विश्वकर्माले आफू सत्तारुढ दल रास्वपाको नेता भएको र प्रधानमन्त्रको सचिवालयमा रहेको बताएपछि सरकारी कार्यालयमा प्रवेश र सार्वजनिक सरोकारका बैठकहरूमा पहुँच पाएको खुलेको छ । प्रधानमन्त्रीको सचिवालय सदस्य भएको बताएपछि जिल्ला प्रशासन कार्यालयले उनलाई अनुगमनका लागि गाडीसमेत उपलब्ध गराएका थियो ।
सरकारी गाडी लिएर उनी सरकारी कार्यालय अनुगमनका लागि पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । हल्दिबारी गाउँपालिका पुगेर फर्किएपछि उनी पक्राउ परेका हुन् ।
उनको गतिविधि शंकास्पद देखिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा पनि नभएको जानकारी पाएपछि पक्राउ गरेको थियो । हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन रास्वपाको नेता भन्दै विश्वकर्मा आफ्नो कार्यालयमा आएको बताउँछन् ।
उनका अनुसार सरकारी नम्बर प्लेटको गाडीमा आएका विश्वकर्माले पालिकाको विकासका विषयमा चासो व्यक्त गरेका थिए । ‘ऊ गाउँको भाइ हो ।
पहिले पनि आउँथे। रास्वपाको नेता भएको छु भनेपछि गाउँको विकासमा सहयोग गर्नुपर्छ, भनेको थिएँ,’ लिङ्देनले भने, ‘अहिले सबै जेनजी नेता छन्, अरू विषय थाहा भएन।’ सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दबाब र धाकधम्की दिएपछि प्रहरीले सोमबार विश्वकर्मालाई पक्राउ गरी ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय झापा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिएका छन ।
प्रहरीले विश्वकर्माले झुटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानिनोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


प्रतिक्रिया