विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न एमालेको माग

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न एमालेको माग


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्पछिको राहत, खोज तथा उद्धार, पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अर्यालले बाढीपीडितका लागि राहत संकलन भए पनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आएको भन्दै प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउन माग गरिन् ।

उनले बेपत्ता नागरिकको खोजीमा ढिलाइ, राहत वितरणमा विभेद र पुनःस्थापनाको तयारीसमेत नभएको भन्दै सरकारको आलोचना गरिन् । सरकारले आफ्नो सामर्थ्यको समयमै आँकलन गर्न नसक्दा विपद्बाट ठूलो क्षति भएको उनको भनाइ छ ।

अर्यालले विश्वविद्यालय तथा क्याम्पसका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञलाई परिचालन गर्न नसकेको तथा सर्वदलीय बैठकमार्फत राजनीतिक दलसँग समन्वय र सहकार्य गर्ने विषयमा पनि सरकार चुकेको बताइन् ।

उनले भनिन्, ‘आजका दिनमा पनि रसुवाका विभिन्न क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको जनगुनासो आइरहेको छ । पीडितका निम्ति राहत जम्मा भएकै छ । जुनसुकै उपाय अवलम्बन गरेर भए पनि ती ठाउँमा पर्याप्त राहत पुर्‍याउने तत्काल व्यवस्था गरियोस् ।’

उनले राहत, खोज तथा उद्धार, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति आवश्यक रहेको बताइन् ।

‘विपद् प्राकृतिक भए पनि विपद्पछि हुने मृत्यु, बेपत्ता नागरिकको खोजीमा हुने ढिलाइ, राहतमा हुने विभेद र पुनःस्थापनामा हुने ढिलाइ सबै प्राकृतिक विपत्ति होइनन् । यो राज्यको तयारी क्षमता र जवाफदेहितासँग जोडिएका प्रश्न हुन्,’ उनले भनिन् ।

अर्यालले विपद्बाट ध्वस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल पुनर्निर्माण प्राधिकरण गठन गर्नसमेत सरकारसँग माग गरिन् ।