काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई ससम्मान समावेश गर्ने निर्णय बिहीबार कार्यान्वयन हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आत्मसात गर्दै निवर्तमान कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा आउने भएपछि कांग्रेस कार्यकर्तामा उत्साह छाएको छ ।
बिहीबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि निवर्तमान कार्यसमितिका सम्पूर्ण नेताहरूलाई औपचारिक पत्र पठाएर निमन्त्रणा गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
विशेष महाधिवेशनपछिका आन्तरिक असमझदारीहरूलाई संवाद र विधिको माध्यमबाट समाधान गर्दै सबै पक्षलाई मूलधारमा जोड्ने नेतृत्वको लचकतापूर्ण निर्णयपछि दर्जनौं निवर्तमान केन्द्रीय सदस्य सानेपा जाने भएका छन् ।
निवर्तमान कार्यसमितिका सबै सदस्यहरूको केन्द्रीय सदस्यको हैसियत सुनिश्चित भएसँगै दुवै पक्षका शीर्ष तथा प्रभावशाली नेताहरू एउटै मञ्चमा उपस्थित भई आगामी १५औँ महाधिवेशन सफल पार्ने अभियान सुरु हुने बताइन्छ ।
असोज १६ देखि १९ सम्म काठमाडौँको खुलामञ्चमा आयोजना हुन लागेको कांग्रेसको १५औँ महाधिवेशन र असोज ३ गतेदेखि प्रारम्भ हुने वडा तहको चुनावी प्रक्रियाको पूर्वसन्ध्यामा हुन लागेको यो बैठकलाई पुनर्जागरणको रूपमा हेरिएको छ।


प्रतिक्रिया