काँग्रेस विभाजनपछि एमाले र नेकपा पनि फुटाउने खेल भइरहेको नेता खड्काको भनाइ

काँग्रेस विभाजनपछि एमाले र नेकपा पनि फुटाउने खेल भइरहेको नेता खड्काको भनाइ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काँग्रेस विभाजनपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दललाई समेत विभाजित गराउने चलखेल भइरहेको अभिव्यक्ति दिएका छन् ।

काँग्रेसको संस्थापन र इतर समूहले समानान्तर रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला खड्काको यस्तो भनाइ सार्वजनिक भएको हो । तर, कुन शक्ति वा समूहले दल विभाजन गराउन खोजेको हो भन्नेबारे उनी मौन छन् ।

खड्काले काँग्रेस सभापति गगनकुमार थापालाई पूर्वसभापति शेरबहादुर देउवासहितका नेतासँग तत्काल संवाद गरी पार्टी एकता कायम गर्न आग्रह गरेका छन्। काँग्रेस विभाजनको असर सिंगो राष्ट्रिय राजनीतिमा पर्ने उनको भनाइ छ।

“काँग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुने छन्, गरिने छन्,” खड्काले भनेका छन्।

दलहरू विभाजित हुँदै गए जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्व बढ्न सक्ने उनको चेतावनी छ। यस्तो अवस्था आए गत वर्ष भदौ २४ को घटनालाई समेत बिर्साउने गरी गम्भीर द्वन्द्व उत्पन्न हुन सक्ने उनले बताएका छन्।

खड्काले थापालाई “साहसिक कदम चालेर सिंगो काँग्रेसको सभापति बन्न” आग्रह गरेका छन्।

१४औँ महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भए पनि विशेष महाधिवेशनमा सहभागी नभएका देउवा पक्षीय नेताहरूलाई समायोजन गर्न ढिलाइ भएको खड्काको भनाइ छ। उनका अनुसार वैशाख २१ गते भएको संवादलगत्तै निर्णय लिएको भए जेठको पहिलो सातामै काँग्रेसलाई एकताबद्ध बनाउन सकिने अवस्था थियो।

काँग्रेस विभाजन रोक्न खड्काले दुई विकल्प अघि सारेका छन्। पहिलो, १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरी केही समयका लागि सार्ने। दोस्रो, सभापति थापाले पूर्वसभापति देउवासहित अग्रज नेताहरूसँग आफ्नै अग्रसरतामा तत्काल वार्ता र संवाद सुरु गर्ने।

पार्टी एकताका लागि थापाले निर्णयमा पुनर्विचार गर्नुपर्ने भन्दै खड्काले “पुनः कठोर संकल्प” गर्न आग्रह गरेका छन्।