काठमाडौँ । नेकपा एमालेभित्र चर्किएको शक्ति संघर्षबीच अध्यक्ष केपी शर्मा ओलीले निकट नेताहरूसँग पार्टी फुट्न सक्ने संकेत गरेका छन् । आफूनिकट नेताहरूसँगको छलफलमा ओलीले अप्रत्यक्ष रूपमा नयाँ पार्टीका लागि तयार हुन सन्देश दिएको ओली निकट उच्च स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार ओलीले नयाँ ढंगले राजनीतिक आन्दोलन अघि बढाउनुपर्ने भन्दै आफू निकट नेताहरूलाई तयारी अवस्थामा रहन सन्देश दिएका छन् । एमालेभित्र पछिल्ला दिनमा पुनगर्ठनको विषय चर्को रूपमा उठेको छ । त्यस क्रममा अध्यक्षबाट ओलीको बिदाइ गर्नुपर्ने एमाले नेता कार्यकर्ता तहबाट उठेको छ ।
पुनगर्ठनकै लागि एमालेले १५ सदस्यीय कार्यदल पनि गठन गरेको छ । उक्त कार्यदलको छलफलमा स्थानीयस्तरबाटै ओलीको बिदाइको मुद्दा उठेको थियो । २१ फागुनको निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिनुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज पार्टीभित्र उठेपछि ओलीले विभिन्न विकल्पमा छलफल अघि बढाएका थिए ।
एमाले स्रोतका अनुसार चुनावमा पराजयको जिम्मा लिनुपर्ने, मार्ग प्रशस्त गर्नुपर्ने, नैतिक जिम्मेवारीसहित एमालेको पुर्नगठनमा अध्यक्ष ओलीले सघाउनुपर्ने मत नेता तथा कार्यकर्ताहरूले राख्न थालेपछि ओलीले विभिन्न विकल्पमा छलफल चलाएका हुन् । आफूनिकटसँग ओलीले भन्ने गरेका छन्, ‘विश्वास गरेर यहाँसम्म ल्याएको शंकर पोखरेलसमेत चलखेलको गोटी बनेर मेरैविरुद्ध लाग्यो, ऊसँग विष्णु पौडेलसमेत जोडिएपछि बहुमत पुर्याउँछन् ।’
ओलीले आफू निकट नेताहरूसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसमेत आफ्नो विपक्षमा उभिएको भन्दै असन्तुष्टि व्यक्त गरेको स्रोत बताउँछ । केन्द्रीय कमिटीमा विपक्षी समूहले बहुमत पुर्याए नेतृत्वबाट हटाउन सक्ने आकलन गर्दै ओलीले त्यसपछिको विकल्पबारे समेत छलफल गरिरहेको ओली निकट स्रोतको दाबी छ ।
ओलीसँग भेट गरेका एक नेताले ओलीको भनाइ उद्दृत गर्दै भने, ‘अब एमाले फुट्ने भयो, नयाँ तरिकाले आन्दोलनलाई अगाडि बढाउनुपर्छ ।’ एमालेको बहुमतपक्ष अहिले ओलीको विपक्षमा रहेको छ । सोही कारण ओलीले चुनाव चिह्न र नाम आफूसँग नहुने संकेत पनि गरेका छन् ।
ओलीले चुनाव चिह्न र पार्टीको नाम विष्णु–शंकरहरूसँग रहने भएको कारण नयाँ तरिकाले पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको विश्लेषण ओलीले सुनाएको स्रोतले उल्लेख गरेको छ । ओलीले केन्द्रीय कमिटीमा आफ्नो पक्षको बहुमत कायम राख्न नेताहरूलाई विभिन्न जिम्मेवारी तथा अवसरको आश्वासन दिने रणनीति अपनाएको स्रोतको दाबी छ । केन्द्रीय कमिटीको सम्भावित समीकरणको हिसाबकिताब पनि ओलीले गरिरहेका छन् ।
ओलीसँग भेट गरेका एक नेताले भने, ‘डायरीमा नेताहरूको विवरण लेख्नुभएको रहेछ, कसले साथ दिन्छ, को कसले भनेको मान्छ भन्ने आधारमा सूची तयार गर्नुभएको रहेछ । विष्णु र शंकरको टिमलाई फुटाउने, नेताहरूलाई मनाउने, गलाउने, टिकटको आश्वासन दिनेसम्मको तयारीमा अध्यक्ष हुनुहुन्छ ।’
पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरोमा बढुवा गर्ने गरी केन्द्रीय सदस्यहरूलाई मनाउने रणनीतिमा ओली रहेका छन् । आसन्न स्थानीय तहको चुनावलाई लक्षित रणनीतिबाट केन्द्रीय कमिटीमा बहुमत पुर्याउने प्रयासमा ओली छन् । त्यस्तो अवस्थामा पनि विष्णु पौडेल र शंकर पोखरेलले बहुमत पुर्याउने जोखिम रहेको निकट नेताहरूलाई ओलीले सुनाए ।
यसका साथै निकट व्यवसायीमार्फत पुनर्गठन पक्षधर नेताहरूसँग संवादसमेत अघि बढाइएको बताइएको छ । ओलीले भने एमाले बलियो बनाउन तीन विकल्पबारे छलफल भइरहेको निकट नेताहरूलाई बताएका छन्। पहिलो, पुनर्गठन कार्यदलको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्ने, दोस्रो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपासँग एकता गर्ने र तेस्रो, राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउने विकल्प रहेको बताइएको छ ।
यसैबीच, एमाले सचिव भानुभक्त ढकालले भने अध्यक्ष हटाउने विषयमा पार्टीका औपचारिक फोरममा छलफल नभएको दाबी गरेका छन् । उनका अनुसार पुनर्गठनबारे उठेका विषय संविधान दिवसपछि सचिवालय हुँदै केन्द्रीय कमिटीबाट टुंगो लाग्नेछ ।
तर, एमालेभित्रको शक्ति संघर्षका कारण ओलीले पार्टीको औपचारिक संरचनाभन्दा बाहिर ‘हाई कमान्ड’ शैलीको समूह बनाएर छलफल अघि बढाएको आरोपसमेत नेताहरूले लगाएका छन् । उक्त समूहमा ओलीसहित रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, भानुभक्त ढकाल, विष्णु रिमाल र प्रदीप ज्ञवाली रहेको नेताहरूको दाबी छ।


प्रतिक्रिया