तिमीहरू खुट्टा तान्दै गर, मलाई केही फरक पर्नेवाला छैन: ओली

तिमीहरू खुट्टा तान्दै गर, मलाई केही फरक पर्नेवाला छैन: ओली


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ अघि बढ्ने बताएका छन् । संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकबाट पार्टीले आगामी कार्यदिशा र संकल्पसहित अघि बढ्ने बताए ।

पार्टी फुट्ने, नयाँ नेतृत्व आउनेलगायतका विषयमा सञ्चारमाध्यमबाट भइरहेका प्रचारप्रति टिप्पणी गर्दै ओलीले त्यस्ता प्रयास सफल नहुने दाबी गरे । ‘कति खेती गरे ? कुन्ती मोक्तानको एउटा गीत छ– म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर । एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन । हामी आफ्नै बाटो हिँड्छौँ । दृढताका साथ हिँड्छौँ,’ उनले भने ।

ओलीले एमालेको आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता र आगामी कामबारे स्पष्ट संकल्पसहित बाहिरिने बताए । ‘हामी ५, ६, ७ को केन्द्रीय कमिटीबाट बाहिर निस्किँदा भव्य वक्तव्यका साथ एकता र संकल्प, पार्टीको एकता र हाम्रा कामहरू यो गर्नेछौँ भन्ने संकल्पका साथ हामी निस्कन्छौँ,’ उनले भने ।

पार्टीभित्र विभाजन ल्याउने प्रयास भइरहेको भन्ने प्रचारप्रति उनले असन्तुष्टि जनाउँदै त्यस्ता प्रयास धेरैपटक भएको बताए ।

‘फलानो अध्यक्ष हुने अरे, फलानो महासचिव हुने अरे । भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ अरे । यस्ता कोशिसहरू धेरै पल्टमा धेरै पल्टका । मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु,’ ओलीले भने ।

अध्यक्ष ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रयास भइरहे पनि आफू अझै मैदानमा रहेको बताए । महाभारतको प्रसंग उल्लेख गर्दै उनले धेरै बाणको वर्षापछि भीष्म पितामह बाणको शैय्यामा ढलेको स्मरण गरे ।

‘अहिलेसम्म पनि शिखण्डीहरूलाई अगाडि राखेकै छन् । तर पनि भीष्म पितामह सरसैयामाथि ढलेका थिए, केपी ओली सरसैयामाथि ढलेको छैन, खडा छ । फेरि पनि मैदानमा छ,’ उनले भने ।

आफ्नो उमेरको प्रसंग जोड्दै ओलीले अमरसिंह थापा ७४ वर्षको उमेरमा पनि युद्धको मैदानमा रहेको स्मरण गरे ।

‘अमर सिंह थापा मेरै उमेरमा तरबार लिएर युद्धका मैदानमा थिए । मैले तरबार होइन, कलम लिएर युद्धको मैदानमा छु । अमर सिंह थापा पनि ७४ वर्षको युद्धको मैदानमा थिए भने मैले पनि अहिले भारी लामो तरबार बोक्नुपरेको छैन, सानो–सानो कलम बोक्ने सामर्थ्य यहाँ छ । बोक्न सक्छु । बोक्या छु,’ उनले भने ।

ओलीले एमालेका नेता तथा कार्यकर्तालाई जनताका बीचमा गएर पार्टीको धारणा स्पष्ट पार्न आग्रह गरे ।

‘म हाम्रा तमाम साथीहरूलाई, तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु । जनताका बीचमा जानुहोस्, जनतालाई सचेत बनाउनुहोस् र अगाडि बढ्नुहोस्,’ उनले भने ।

उनले देशलाई बिग्रन नदिन नेपाली जनताले सच्याएर अघि बढ्नुपर्ने बताए । ‘नेपाली जनतालाई भन्न चाहन्छु, यो देश हाम्रो हो, बिग्रिन नदिऔँ । सच्याऔँ । नेपाली जनताले सच्याउने हो । त्यसको अगुवाइ नेकपा एमालेले गर्छ,’ ओलीले भने ।

अराजकताबाट नभई स्पष्ट बाटोबाट मात्रै गन्तव्यमा पुग्न सकिने उल्लेख गर्दै ओलीले एमालेको गन्तव्य स्पष्ट रहेको दाबी गरे ।

‘अराजकताबाट होइन, स्पष्ट बाटोबाट मात्रै गन्तव्यमा पुग्न सकिन्छ । हाम्रो गन्तव्य सही छ । आज संविधानको रक्षा र प्रणालीको रक्षा, लोकतन्त्रको रक्षा हाम्रा काँधको प्रमुख कार्यभार हो,’ उनले भने ।

ओलीले नेपाली जनताले अराजकतालाई जित्न दिन नहुने बताए । लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको उनको भनाइ थियो ।