ओलीको निर्देशनमा प्रतिवेदन पुनर्लेखन, एमाले कार्यदलमै विवाद

ओलीको निर्देशनमा प्रतिवेदन पुनर्लेखन, एमाले कार्यदलमै विवाद


ग्लोब नेपाल
0
Shares

काठमाडौं । एमालेको निर्वाचन समीक्षा र नेतृत्व पुनर्गठनका विषयमा गठन गरिएको कार्यदलभित्रै प्रतिवेदनलाई लिएर विवाद चर्किएको छ। कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुनर्लेखन गरिएपछि पुनर्गठनको पक्षमा रहेका कार्यदलका सदस्यहरूले त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।

कार्यदलका सदस्य सचिव तथा महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने विषयसमेत समेटिएको थियो । उक्त प्रतिवेदनमा ओलीको भूमिकामाथि प्रश्न उठाइएपछि त्यसलाई पुनर्लेखन गर्न दबाब दिइएको बताइएको छ ।

प्रतिवेदनबारे पटक–पटक छलफल भए पनि कार्यदलमा सहमति जुट्न सकेको छैन । यही विषयमा छलफल गर्न आइतबार पुनः कार्यदलको बैठक बोलाइएको छ । तर, बैठकमा पेस गर्न अध्यक्ष ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले तयार पारेको प्रतिवेदनलाई पुनर्गठनको पक्षमा रहेका सदस्यहरूले अस्वीकार गर्ने दाबी गरेका छन ।

तीन दिनअघि काभ्रेमा बसेको कार्यदल बैठकले संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णुप्रसाद पौडेल र शंकर पोखरेललाई प्रतिवेदन टुंग्याउने जिम्मेवारी दिएको थियो । तीमध्ये पौडेल र पोखरेल पुनर्गठनको पक्षमा देखिएपछि अध्यक्ष ओलीले उनीहरूसहित पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विष्णु रिमाललाई निवासमै बोलाएर निकास खोज्ने प्रयास गरेका थिए ।

तर उक्त छलफलबाट पनि सहमति ननिस्किएपछि ज्ञवालीलाई दुवै प्रतिवेदन समेटेर नयाँ प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो । ज्ञवालीले तयार पारेको प्रतिवेदनलाई भने कार्यदलका पुनर्गठन पक्षधर सदस्यहरूले वैधानिकता दिन नसकिने बताएका छन् ।

उनीहरूको तर्कमा ज्ञवाली कार्यदलका सदस्य नभएकाले कार्यदलको आधिकारिक प्रतिवेदनका रूपमा त्यसलाई स्वीकार गर्न सकिँदैन । कार्यदलका एक सदस्यले भने, ‘यो कुनै वैधानिक प्रतिवेदन होइन । कार्यदल बाहिरबाट आएको विषयलाई कार्यदलले जान्ने कुरा भएन ।

यो प्रतिवेदनको अर्थ छैन। जो कार्यदल बाहिरबाट आएको छ, यसमा छलफल नै हुन सक्दैन।’ ज्ञवालीले एमाले पुनर्गठनसम्बन्धी तेस्रो प्रतिवेदन तयार गरेका हुन् । यसअघि महासचिव पोखरेलले ६५ पृष्ठको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा अध्यक्ष ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्तावसमेत रहेको बताइएको छ ।

त्यसको प्रतिवाद गर्दै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ३९ पृष्ठको अर्को प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदनलाई समायोजन गरी पार्टी बैठकमा पेस गर्न एमालेले कार्यदल गठन गरेको थियो ।तर कार्यदलमा सहमति जुट्न नसकेपछि अध्यक्ष ओलीको निर्देशनअनुसार ज्ञवालीले दुवै प्रतिवेदनलाई समेटेर २९ पृष्ठको तेस्रो प्रतिवेदन तयार गरेका हुन् ।

यससँगै एमालेभित्र निर्वाचन समीक्षा र नेतृत्व पुनर्गठनको विषयमा विवाद कार्यदलबाटै बाहिरिने संकेत देखिएको छ। आइतबार बस्ने कार्यदल बैठकमा ज्ञवालीको प्रतिवेदनलाई लिएर थप विवाद चर्किने सम्भावना रहेको नेताहरूले बताएका छन् ।