काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोशी बाढीबाट भएको क्षति र त्यससँग जोडिएका विषय उठाउन प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोलीलाई निर्देशन दिएको छ ।
बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले महासभामा नेपालको तर्फबाट भोटेकोशी विपद्का बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाबारे विषय उठाउने गरी तयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।
रास्वपाका प्रवक्ता जगदीश पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको सम्बोधनलाई यी विषयमा केन्द्रित गर्न नीतिगत निर्देशन दिइएको छ ।
यसैगरी, बाढीमा ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न र लामो समयदेखि बेपत्ता रहेका व्यक्तिका परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंग्याउन रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।
पीडित परिवारलाई आवश्यक राहत तथा राज्यबाट उपलब्ध हुने सुविधा सुनिश्चित गर्नसमेत सरकारलाई आग्रह गरिएको छ । बैठकमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिसम्बन्धी विषयमा सचिवालयलाई जानकारी गराएका थिए ।
भोटेकोशी विपद्का कारण स्थगित पार्टीका नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘हामी सुन्छौँ’, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोटलगायत सांगठनिक गतिविधि अघि बढाइने रास्वपाले जनाएको छ ।
बैठकले मधेस प्रदेशको सांगठनिक अवस्था र कार्यसम्पादन अडिटबारे पनि छलफल गरेको थियो । साथै, केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिँदै १० जनालाई सदस्य नियुक्त गरिएको छ । ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुख तथा विभिन्न विभागमा सदस्यहरू मनोनयन गरिएको रास्वपाले जनाएको छ ।
बैठकमा नवमनोनित सचिवालय सदस्य एवं ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले सभापति रवि लामिछानेसँग पद तथा गोपनीयताको शपथसमेत लिएका थिए ।


प्रतिक्रिया