इमरान खानकी बहिनी अलिमा खान लाहोरबाट पक्राउ

इमरान खानकी बहिनी अलिमा खान लाहोरबाट पक्राउ


ग्लोब नेपाल
0
Shares

इस्लामवाद । पाकिस्तान प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानलाई लाहोरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। जेलमा रहेका इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी ‘पाकिस्तान तेहरिक-ए-इन्साफ’ (पीटीआई) ले आउँदो सेप्टेम्बर २७ मा आयोजना गर्न लागेको विरोध र्‍यालीको ठ्याक्कै एक साताअघि आइतबार यो गिरफ्तारी भएको हो।

लाहोरका डेपुटी कमिस्नरले पञ्जाबको ‘सार्वजनिक व्यवस्था कायम राख्ने कानुन’ अन्तर्गत अलिमा खानलाई ३० दिनसम्म ‘निवारक हिरासत’ मा राख्न आदेश जारी गरेका छन्।

अलिमा खानका वकिल राना मुदस्सर उमरले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भनेका छन्, “अलिमा खान बिहान चालकसँग घरबाट निस्किएकी थिइन्, त्यसबेला प्रहरीले उनलाई गैरकानुनी रूपमा पक्राउ गरी अज्ञात स्थानमा लगेको छ। लाहोरमा उनीविरुद्धका सबै मुद्दामा उनले जमानत पाइसकेकी छिन्।”

यता पीटीआईका प्रवक्ता शेख वकास अक्रमले यस गिरफ्तारीको कडा निन्दा गर्दै यसलाई गैरकानुनी र कायरतापूर्ण कदम भनेका छन्। उनले अलिमा खानको तत्काल रिहाइको माग गरेका छन्।

गिरफ्तारीबारे सरकारको तर्फबाट आधिकारिक प्रतिक्रिया नआए पनि गृहमन्त्री मोहसिन नकभीले पीटीआईको आगामी प्रदर्शन रोक्न सरकारले सक्दो प्रयास गर्ने बताएका थिए।

पीटीआईले एक्समा लेखेकाे छः पूर्व प्रधानमन्त्री इमरान खानलाई मनमानी रूपमा हिरासतमा राखिएको छ, र अब, राजनीतिक दमन परिवारका सदस्यहरूमा बढेको छ: उनकी बहिनी अलिमा खानलाई पाकिस्तानको सैन्य शासनले योजनाबद्ध शान्तिपूर्ण प्रदर्शनहरू अघि वकालतलाई दबाउन निवारक नजरबन्द कानून अन्तर्गत लाहोरमा हिरासतमा लिएको थियो।

राजनीतिक विपक्षीहरू र उनीहरूका परिवारहरूलाई मौन राख्न राज्य शक्तिको प्रयोगले देशमा फासीवादको ऐतिहासिक रूपमा सबैभन्दा खराब रूपलाई प्रतिनिधित्व गर्दछ र यो नियम बन्दै गइरहेको छ।