कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघ्यो

कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघ्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । लगातारको भारी वर्षाका कारण कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ।

आइतबार बिहान ६ बजेको अद्यावधिक विवरणअनुसार कुलेखानी जलाशयको पानीको सतह १,५२५.३७ मिटर पुगेको छ। शनिबार राति १० बजे १,५२४.०९ मिटर रहेको पानीको सतह रातभरको वर्षापछि बिहान ६ बजेसम्म १.२८ मिटरले वृद्धि भएको हो।

जलमापन केन्द्रका अनुसार राति १२ बजे १,५२४.१३ मिटर रहेको जलसतह बिहान २ बजे १,५२४.३६ मिटर, ३ बजे १,५२४.६३ मिटर, ५ बजे १,५२५.११ मिटर हुँदै बिहान ६ बजेसम्म आइपुग्दा १,५२५.३७ मिटर नाघेको छ।

हाल जलाधार क्षेत्रमा प्रतिघण्टा ११ मिलिमिटरका दरले वर्षा भइरहेको छ भने जलाशयको पानीको सतह प्रतिघण्टा २२ देखि २३ सेन्टिमिटरका दरले बढिरहेको छ। १,५३० मिटर क्षमता रहेको कुलेखानी जलाशय भरिन अब करिब ४.६३ मिटर मात्र बाँकी छ।

जलाशयमा पानीको चाप बढेपछि कुलेखानी जलविद्युत् आयोजनाका प्लान्टहरूलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ। पानीको सतह यही गतिमा बढिरहे नियन्त्रित रूपमा बाँधको ड्याम (गेट) खोलेर पानी निकास गराउने विषयमा प्राविधिक तथा व्यवस्थापन टोली छलफलमा जुटेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सचेत गराउन साइरन बजाउने र मोबाइलमा एसएमएस पठाउने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन्।