काठमाडौं । भारतीय अभिनेता नाना पाटेकरको निधनमा नेपाली अभिनेत्री मनिषा कोइरालाले भावुक श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।
बिहीबार नाना पाटेकरको निधन भएपछि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै मनिषाले उनलाई महान् अभिनेता तथा अभिनय क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा स्मरण गरेकी हुन् ।
मनिषाले पाटेकरको निधनप्रति दुःख व्यक्त गर्दै चलचित्र क्षेत्रमा उनको योगदान र आफ्नो कलाप्रतिको समर्पण सधैं स्मरणीय रहने बताएकी छन् । उनले पाटेकरको आत्माको चिरशान्तिको कामनासमेत गरेकी छन् ।
मनिषा र नाना पाटेकरबीच व्यावसायिक सहकार्यसमेत रहेको थियो । यी दुईले सन् १९९६ मा प्रदर्शनमा आएको ‘खामोशी : द म्युजिकल’ र ‘अग्नि साक्षी’मा सँगै काम गरेका थिए । त्यसपछि सन् १९९८ मा आएको ‘युगपुरूष’मा पनि उनीहरूले सहकार्य गरेका थिए ।
नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा निधन भएको हो । गोवास्थित निवासमा अचेत अवस्थामा भेटिएका उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकको प्रयास सफल हुन सकेन । उनको निधन हृदयाघातका कारण भएको बताइएको छ ।
पाँच दशकभन्दा लामो अभिनय यात्रामा पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा प्रभावशाली अभिनय गरेका थिए । अभिनयसँगै उनी निर्देशन तथा सामाजिक कार्यमा समेत सक्रिय थिए ।


प्रतिक्रिया