काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३६ जनाको उद्धार गरिएको छ । नेपाली सेनाका चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले विभिन्न स्थानबाट उनीहरूको उद्धार गरेको हो ।
नेपाली सेनाका अनुसार जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक शिशु र एक विदेशी नागरिकसमेत रहेका छन् ।
सेनाले बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट उद्धार कार्य सञ्चालन गरिरहेको जनाएको छ । अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरेर थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ ।
बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण उत्तरी गोरखाका विभिन्न क्षेत्रमा जोखिम बढेपछि सुरक्षाकर्मी परिचालन गरी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा अझै केही नागरिक जोखिममा रहेको हुन सक्ने भएकाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायबीच समन्वय गरेर उद्धार अभियान अघि बढाइएको छ ।
सुरक्षा निकायले जोखिमयुक्त नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र उद्धार कार्यमा खटिएका टोलीलाई सहयोग गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया