डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी) मा पछिल्लो पटक फैलिएको इबोला महामारीका कारण सङ्क्रमितको सङ्ख्या ९ हजार नाघेको छ ।
गत मे महिनाबाट सुरु भएको यस महामारीले अहिलेसम्म ९,०६६ जनालाई सङ्क्रमित बनाएको छ भने ४,३८१ जनाले ज्यान गुमाएका छन् । कंगोको स्वास्थ्य मन्त्रालय र इबोला टास्क फोर्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार यस महामारीको मृत्युदर ४८.३ प्रतिशत पुगेको छ ।
कुल सङ्क्रमितमध्ये २,३८९ जना उपचारपछि निको भएका छन् । सातवटा प्रान्तका ६५ स्वास्थ्य क्षेत्रमा फैलिएको यस रोगको इपिसेन्टर (केन्द्रबिन्दु) इटुरी प्रान्त बनेको छ, जहाँ कुल सङ्क्रमितको ७३.८ प्रतिशत हिस्सा देखिएको छ । उत्तर किभु प्रान्तमा भने मृत्युदर सबैभन्दा उच्च ५७.१ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्री रोजर काम्बाकाअनुसार महामारी केही क्षेत्रमा नियन्त्रण उन्मुख देखिए पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने केही स्थानमा भाइरसको सङ्क्रमण अझै बढ्दो क्रममा रहेको भन्दै चेतावनी दिएका छन् । समुदायस्तरमा हुने मृत्युको उच्च दर र कन्ट्याक्ट ट्रेसिङमा देखिएका कमी–कमजोरीहरू हालको प्रमुख चुनौती बनेका छन् ।
यो प्रकोप ‘बुन्डिबुग्यो इबोला’ भाइरसका कारण फैलिएको हो, जसका लागि हालसम्म कुनै पनि विशेष खोप वा उपचार पद्धति आधिकारिक रूपमा स्वीकृत भइसकेको छैन । यद्यपि, ‘ट्युमाइनी’ नामक चरण २–३ को क्लिनिकल परीक्षण शुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यस परीक्षणले बुन्डिबुग्यो भाइरस विरुद्धका खोप उम्मेदवारहरूको प्रभावकारिता जाँच्नेछ ।
हाल फ्रन्टलाइन स्वास्थ्यकर्मीहरूलाई अनुसन्धान प्रोटोकल अन्तर्गत ‘इर्भेबो’ खोप लगाइँदैछ । तर यो खोप ‘जैर इबोला’ भाइरसका लागि मात्र प्रभावकारी मानिने भएकाले बुन्डिबुग्यो विरुद्ध यसको प्रभावकारिता परीक्षणको विषय बनेको छ । मे १५ मा घोषणा गरिएको यो प्रकोप डीआरसीको इतिहासकै सबैभन्दा घातक र विश्वकै दोस्रो ठूलो इबोला महामारीका रूपमा दर्ज भएको छ ।


प्रतिक्रिया