काठमाडौं । रोजगारी, व्यवसाय, अध्ययन तथा अन्य कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू दसैं नजिकिएसँगै आफ्नो थातथलो फर्किन थालेका हुन् ।
यातायात व्यवसायीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै अग्रिम टिकट लिएर ७८ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
दसैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको संख्या पनि बढेको व्यवसायीहरूको भनाइ छ ।
हालसम्म पाँच लाखभन्दा बढी मानिसले काठमाडौं उपत्यका छाडिसकेको अनुमान गरिएको छ । काठमाडौं उपत्यका देशका विभिन्न जिल्लाबाट रोजगारी, अध्ययन र व्यवसायका लागि आएका मानिसहरूको प्रमुख गन्तव्य हो ।
लामो समयदेखि परिवारबाट टाढा रहेकाहरू चाडपर्व मनाउन घर पुग्ने तयारीमा जुट्दा उपत्यकाका बसपार्कमा यात्रुको चहलपहल बढ्न थालेको छ ।
दसैं मनाउन उपत्यका छाड्नेको संख्या बढेसँगै काठमाडौंका मुख्य सडकमा सवारी चाप कम हुन थालेको छ । सामान्य दिनमा कार्यालय जाने आउने समय तथा बजार क्षेत्रमा देखिने भीडभाड क्रमश: घट्दै गएको छ । उपत्यकामा बसोबास गर्ने ठूलो जनसंख्या बाहिरिएपछि सडकमा सवारीसाधनको चाप घट्ने गरेको छ ।
दसैंको मुख्य दिन नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुको संख्या थप बढ्ने अनुमान गरिएको छ । अग्रिम टिकट बुकिङ गर्ने यात्रुसँगै निजी सवारीसाधन तथा अन्य यातायातका माध्यमबाट बाहिरिनेहरू पनि हुने भएकाले उपत्यका छाड्नेको कुल संख्या अझ बढी हुन सक्छ ।


प्रतिक्रिया