कोप–३१ को तयारीका लागि बिहीबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गरिने

कोप–३१ को तयारीका लागि बिहीबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गरिने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) को तयारीका लागि बिहीबार जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न लागिएको बताएकी छन् ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले कोप–३१ को तयारीका लागि सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएकी हुन् । सम्मेलनमा संसदीय समितिका सभापति, सांसद, विज्ञ तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहनेछ । सम्मेलनमा प्राप्त सुझाव तथा सामग्री कोपमा प्रस्तुत गरिने उनले बताइन् ।

“कोपको तयारीका लागि हामीले काम गरिरहेका छौँ । कोपको तयारीका लागि भोलि अर्थात् कार्तिक १२ गते जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्ने तय भएको छ,” मन्त्री चौधरीले भनिन्, “त्यसपछि हामी सरोकारवाला तथा विकास साझेदारहरूसँग समन्वय र सहकार्यका लागि बैठक गर्नेछौँ । भोलि औपचारिक रूपमा विषयवस्तु प्रस्तुत भइसकेपछि थप छलफल गरेर माननीयज्यूहरूसँग परामर्श गर्ने हाम्रो योजना छ ।”

कोपको तयारीका लागि मन्त्रालयले विकास साझेदार र सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने बताउँदै मन्त्री चौधरीले कोपमा प्रस्तुत गरिने सामग्री, प्याभिलियन तथा जलवायु परिवर्तनका प्रभावसम्बन्धी दृश्य सामग्रीको तयारीमा समेत विशेष ध्यान दिइने जानकारी दिइन् । उनका अनुसार कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार भइसकेको छ ।

कोपमा सहभागी हुने सांसदहरूले उठाउनुपर्ने विषय, प्रस्तुत गर्नुपर्ने धारणा र अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल गरिने उनले बताइन् ।

“कोपमा यहाँबाट जानुहुने सबै माननीयज्यूहरूले हाम्रो देशको प्रतिनिधित्व गर्नुहुनेछ । त्यसैले उहाँहरूले त्यहाँ उठाउनुपर्ने विषय, प्रस्तुत गर्नुपर्ने धारणा र अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा तपाईंहरूको निर्देशन, सल्लाह र सुझाव लिन हामी फेरि बस्नेछौँ,” उनले भनिन् ।

कोपमा विभिन्न स्थानमा आयोजना हुने द्विपक्षीय बैठक, छलफल तथा संवादमा सरकारका प्रतिनिधि मात्र सहभागी हुन सम्भव नहुने उल्लेख गर्दै उनले सांसद तथा सरोकारवालाको सहभागिताबाट उठेका विषय र भएका कामलाई एकीकृत र व्यवस्थित बनाउने विषयमा समेत छलफल गरिने बताइन् ।

मन्त्री चौधरीले कोपमा सहभागी भएर फर्किएपछि प्राप्त उपलब्धिको समीक्षा र कार्यान्वयनलाई प्राथमिकता दिइने पनि बताइन् । विगतका कोप सम्मेलनमा सहभागिताबाट प्राप्त उपलब्धि कति कार्यान्वयन भए भन्ने विषयमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले आगामी सम्मेलनपछि निरन्तर अनुगमन र कार्यान्वयनमा काम गरिने जानकारी दिइन् ।

“सम्मेलनबाट फर्किएपछि प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्न के गर्न सकिन्छ भन्ने विषयमा हामी गम्भीरतापूर्वक काम गर्नेछौँ । विगतमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न सम्मेलन तथा कोपमा सहभागी हुँदै आएका छौँ । तर त्यहाँ गएर फर्किएपछि प्राप्त उपलब्धिको मूल्याङ्कन कत्तिको भयो वा भएन भन्ने विषयमा मात्र सीमित नभई अबको कोप सम्मेलनपछि गरिने अनुगमन तथा त्यसको कार्यान्वयनमा पनि हामी काम गर्नेछौँ,” उनले भनिन् ।

प्रधानमन्त्री र सभामुखले जलवायु परिवर्तनका सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका धारणालाई सरकारले नीतिगत मार्गदर्शनका रूपमा लिएको मन्त्री चौधरीले बताइन् । ती धारणालाई जलवायु वार्तामा प्रभावकारी रूपमा प्रस्तुत गर्न विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको उनको भनाइ छ ।

“विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी हुँदा सभामुखज्यू र प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएका धारणालाई हामीले राज्यको निर्देशन तथा मार्गदर्शनका रूपमा लिएका छौँ,” उनले भनिन् ।

मन्त्री चौधरीले जलवायु परिवर्तनका मुद्दामा लामो समयदेखि काम गर्दै आएका विज्ञ तथा सरोकारवालालाई मन्त्रालयसँग प्रत्यक्ष छलफल गरी सुझाव दिन आग्रह गरिन् । नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन राष्ट्रिय प्रतिबद्धता, अन्तर्राष्ट्रिय वार्ता र सम्मेलनपछिको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

बैठकमा उनले जलवायु अनुकूलन कोषबाट ४५ मिलियन रकम विनियोजन भएको जानकारी पनि दिइन् । उक्त रकमको प्रभावकारी उपयोग तथा जलवायु कार्यक्रमका लागि उपलब्ध स्रोत परिचालनलाई थप व्यवस्थित बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको उनले बताइन् ।

कोपमा नेपालको सहभागितालाई समावेशी बनाउने तयारी भइरहेको जानकारी दिँदै मन्त्री चौधरीले राष्ट्रिय दलबाट एक–एक जना प्रतिनिधि सहभागी गराउने प्रस्तावबारे छलफल भएको र त्यसको औपचारिक निर्णय सभामुखबाट हुने बताइन् ।

कोपमा सहभागी हुने सांसदहरूको विषयगत जिम्मेवारी र सहभागिताबारे सभामुखसँग छलफल भइरहेको उनको भनाइ छ । कोपमा नेपालको प्रतिनिधित्व गर्ने सांसदहरूलाई विषयगत छलफल, द्विपक्षीय बैठक र अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने मुद्दाबारे पूर्वतयारी गराइने पनि उनले जानकारी दिइन् ।