काठमाडौं । लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष एवं गायिका आनी छोइङ डोल्माको बैंक खातामा आएको शंकास्पद १६ लाख अमेरिकी डलरबारे छानबिन सुरु गरीएको छ । जुन रकमलाई राष्ट्र बैंकले नै शंकास्पद मानेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन गर्न पत्राचार गरेको थियो ।
उक्त छानबिन पनि दबाबको भरमा रोकेर खाता फुकुवा गरियो । जुन विषयमा अहिले पनि अनुसन्धान हुन सक्ने विभागका अधिकारी बताउँछन् । आनीको मेगा बैंक (हाल इन्भेष्टमेन्ट मेगा)मा रहेको खाता नम्बर ००१००५००३९४२४ मा ०७५ को असार २६, २७ र २८ गते हङकङबाट स्रोत नखुलेको डलर आएको थियो।
२६ असारमा पाँच लाख ७९ हजार ९८०, २७ असारमा पाँच लाख ३९ हजार ९८० र २८ असारमा पाँच लाख २९ हजार ९८० अमेरिकन डलर आएको थियो।
सो डलर शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो।
अनुसन्धान चलिरहेकै वेला रकमको चित्तबुझ्दो स्रोत देखाउन नसके पनि उच्चस्तरबाट आएको दबाबपछि अनुसन्धान तामेलीमा राखिएको थियो ।


प्रतिक्रिया