पोखरामा शौचालयको च्याम्बरमा नवजात शिशुको शव, १९ वर्षीया महिला पक्राउ

पोखरामा शौचालयको च्याम्बरमा नवजात शिशुको शव, १९ वर्षीया महिला पक्राउ


ग्लोब नेपाल
108
Shares

रौतहट। पोखरामा सालनालसहित मृत अवस्थामा नवजात शिशु फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीया महिलालाई पक्राउ गरेको छ।

कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको टहराको शौचालयको च्याम्बरमा गत ३ कात्तिकको साँझ पुरुष नवजात शिशुको शव फेला परेको थियो।

शौचालय जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनी तोडबहादुर थापाले च्याम्बर खोलेर हेर्दा शिशुको शव देखेका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।

घटनाको अनुसन्धानका क्रममा पोखरा–६ लेकसाइडमा भाडामा बस्दै आएकी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ की निरता नेपालीमाथि प्रहरीले शंका गरेको थियो। घटनापछि फरार रहेकी उनलाई प्रहरीले ४ कात्तिकको राति करिब १ः१५ बजे पोखरा महानगरपालिका–२१ लुकुनस्वाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाको चिकित्सकीय स्वास्थ्य परीक्षणसमेत गरिएको छ। अनुसन्धानका क्रममा उनको विवाह २०७८ सालमा स्याङ्जाकै राजन सार्कीसँग सामाजिक परम्पराअनुसार भएको खुलेको छ।

प्रहरीले उनलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गराएर थप अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।