काठमाडौं । सञ्चारमाध्यमको समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको र पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले आज बेलुकी ८:३० बजे आपत्कालीन केन्द्रीय समितिको बैठक बोलाएको छ।
‘नेपाल पत्रकार महासघले अहिले बेलुकी ८:३० बजे आपतकालिन केन्द्रीय समितिको बैठक बोलाएको छ । विकसित घटनाको बारेमा महासघले गम्भीर समिक्षा गरेर सबिधान र प्रेस स्वतन्त्रताको रक्षाको लागि संघर्षको कार्यक्रम तय गर्नेछ,’ महासंघका काेषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिदैँ भने ।
शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यममाथि भएको राज्यको हस्तक्षेप र पत्रकारहरूप्रतिको गैरन्यायिक धरपकडका घटनाप्रति महासंघले कडा विरोध जनाएको छ। पछिल्लो समय विकसित भइरहेका यी घटनाहरूको बारेमा बैठकमा गम्भीर समीक्षा हुने महासंघले जनाएको छ।
महासंघका अनुसार बैठकले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारहरूको व्यावसायिक सुरक्षा सुनिश्चित गर्नका लागि आगामी कडा सङ्घर्षका कार्यक्रमहरू तय गर्नेछ। पत्रकारहरूलाई बिना पक्राउ पुर्जी र बिनाकारण नियन्त्रणमा लिने कार्यले प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार भएको भन्दै पत्रकार महासंघले यस विषयमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो


प्रतिक्रिया