जोगीको भेषमा ठगी, ३ जना प्रहरी खोरमा

जोगीको भेषमा ठगी, ३ जना प्रहरी खोरमा


ग्लोब नेपाल
108
Shares

विराटनगर । मोरङको उर्लाबारीमा जोगीको भेष धारण गरी सर्वसाधारणलाई झुक्याएर ठगेको आरोपमा तीन जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा पुगेका छन्। उनीहरूलाई उर्लाबारी नगरपालिका–२ र ३ अन्तर्गतको सालबारी क्षेत्रबाट पक्रिएको हो ।

उर्लाबारी–३ का वडाध्यक्ष भीष्म बुढाथोकीको सक्रियता, स्थानीयवासीको सहयोग र प्रहरीको समन्वयमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले नियन्त्रणमा लिएका तीनै जना भारतको बिहार राज्यस्थित समस्तीपुर जिल्लाका नागरिक रहेको बताइएको छ।

प्रहरीले उनीहरूको परिचय सार्वजनिक गरेको छैन। वडाध्यक्ष बुढाथोकीका अनुसार जोगीको भेषमा घरघरमा पुगेर हात हेरिदिने, चामल र तेल माग्ने बहानामा सर्वसाधारणलाई झुक्याउने तथा बेहोस बनाएर लुटपाट गरेको सूचना प्राप्त भएको थियो।

स्थानीयका अनुसार आजै सालबारी क्षेत्रका दुई घरमा समेत उनीहरूले मानिसलाई बेहोस बनाएर ठगी प्रयास गरेका थिए। तर, उनीहरूले घरधनीको सम्पत्ति लुट्न नभ्याएको बताइन्छ ।

घटनाबारे स्थानीयबाट सूचना प्राप्त भएपछि वडाध्यक्ष बुढाथोकीले तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरू अन्य ठगीका घटनामा संलग्न भए–नभएको तथा घटनाको वास्तविक प्रकृतिबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।

उक्त घटनापछि स्थानीयवासीलाई अपरिचित व्यक्तिहरूको गतिविधिप्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।