रौतहटमा युवकलाई लक्षित गरी गोली प्रहार

रौतहटमा युवकलाई लक्षित गरी गोली प्रहार


ग्लोब नेपाल
0
Shares

काठमाडौं । रौतहटको गौरमा रातिको समयमा भएको गोली प्रहारको घटनामा एक युवक गम्भीर घाइते भएका छन्.। आक्रमणकारीको पहिचान हुन सकेको छैन ।

गौर नगरपालिका–४ गढवा टोलका २८ वर्षीय राकेश यादवमाथि सोमबार राति सवा ९ बजे गोली चलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानी ट्यांकी नजिक रहेका बेला उनलाई अज्ञात समूहले निशाना बनाएको थियो । प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका बरामद भएका छन् ।

गोलीका छर्रा लागेर यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनालगत्तै उनलाई उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेपाल मेडिसिटी बयोधा अस्पताल रिफर गरिएको हो । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । युवकमाथि भएको आक्रमणको कारण खुलेको छैन । घटनामा संलग्न व्यक्तिको पहिचान तथा आक्रमणको उद्देश्य पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।