काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले दियोपोस्ट अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन् । आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक र अप्रमाणित समाचार प्रकाशित गरेको भन्दै सांसद पोखरेलले प्रेस काउन्सिलमा उजुरी दिएका हुन्।
भ्रामक, निराधार तथा कपोलकल्पित समाचार प्रकाशित गरी मेरो व्यक्तिगत प्रतिष्ठा, सामाजिक छवि एवं सार्वजनिक जीवनमा गम्भीर आघात पुर्याइएको विषयमा आवश्यक कारबाहीको माग गर्दै काउन्सिलमा निवेदन दर्ता गराएको निवेदनमा उल्लेख छ ।
निवेदनमा भनिएको छ– ‘म सत्य, तथ्य, विधिको शासन र जिम्मेवार पत्रकारिताप्रति दृढ विश्वास राख्छु। सञ्चारमाध्यमको स्वतन्त्रता, मर्यादा र सम्मानप्रति मेरो पूर्ण प्रतिबद्धता छ। तथापि, प्रेस स्वतन्त्रताको नाममा भ्रामक, निराधार तथा तथ्यहीन आरोपहरूका आधारमा कुनै व्यक्तिको प्रतिष्ठा र सामाजिक छविमा आघात पुर्याउने कार्य कदापि स्वीकार्य हुन सक्दैन।’
‘ममाथि प्रकाशित भ्रामक समाचारका कारण मेरो प्रतिष्ठा तथा सार्वजनिक छविमा पुगेको क्षतिका सम्बन्धमा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी उपचार खोज्नेछु। साथै, सम्बन्धित निकायबाट सत्यतथ्यको निष्पक्ष छानबिन, उचित जवाफदेहिता र न्यायोचित निरूपण हुने अपेक्षा गर्दछु’ काउन्सिलमा दर्ता भएको निवेदनमा उल्लेख छ ।
काउन्सिलले सञ्चारमाध्यमको पत्रकारिता आचारसंहिता पालना गराउने तथा नागरिकको प्रतिष्ठा र अधिकारको संरक्षण गर्ने जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै सांसद पोखरेलले दियोपोस्टविरुद्ध आवश्यक कारबाही गर्न मागसमेत गरेका छन्।


प्रतिक्रिया