ओलीको दाबी : ‘आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएका छन्’

ओलीको दाबी : ‘आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएका छन्’


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकुल बन्दै गएको बताएका छन् ।

नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकुल बन्दै गएको बताएका हुन् । उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भिर भएर लाग्ने बताए ।

उनले स्थानीय तह र प्रदेशसभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको उल्लेख गरे । स्थानीय तह निर्वाचन केवल स्थानीय सरकार गठनमा सिमित नरहेको उल्लेख गर्दै उनले यसले राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता तयार गर्ने बताए ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले समेत महत्त्वपूर्ण हुने उनको भनाई छ ।

त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताए ।

प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाई छ । आगामी दिनमा स्थानीय तह, प्रदेश सभा, राष्ट्रिय सभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै यी सबै निर्वाचनलाई रणनीतिक महत्वका साथ लिनुपर्ने बताए ।

उनले स्थानीय तहको निर्वाचनलाई फोकस गरेर संगठन निर्माण गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए । कार्यकर्ताबीचमा एकता नहुँदा एमालेले निर्वाचनमा धक्का व्यहोर्नुपरेको उनको भनाई छ । उनले निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमा नै कारबाही गर्न पनि निर्देशन दिए ।

उनले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गते भएको अराजकलाई बैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गरिएको आरोप लगाए । उनकाअनुसार उक्त निर्वाचन राज्यशक्तिको प्रयोग गरेर शान्तिपूर्ण रूपमा बुथ कब्जा गरिएको थियो ।