इजरायलमा आलोपालो प्रधानमन्त्रीको चर्चा सुरु भएको छ । कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रतिद्वन्द्वी आइजनकोटसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।
शनिवार सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा नेतन्याहूले ‘मेरो नेतृत्वको जिम्मेवारीले मलाई सबै कुरा, सबैभन्दा ठूलो पार्टीको सिद्धान्तसमेत छोड्न बाध्य पार्छ’ भन्दै उनले सुरुमा ‘वैकल्पिक प्रधानमन्त्री’ को रूपमा सेवा गर्ने बताएका हुन्।
यो महिनाको सुरुमा इजरेलका राष्ट्रपति आइज्याक हेरजोगले २८ दिनभित्र सरकार गठन गर्ने जिम्मा दिएका आइजनकोटले छिटो जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री नेतन्याहूलाई ‘साँचो र छिटो वार्ता’ गर्न भनेका थिए।
आइजनकोटले शुक्रवार नेतन्याहूको दक्षिणपन्थी लिकुड पार्टीमाथि डिसेम्बर छ तारिखको म्यादअघि गठबन्धन वार्ता रोकेको आरोप लगाएपछि नेतन्याहूको यस्तो पोष्ट आएको हो।
आइजनकोटको मध्यमार्गी याशर पार्टी र तीन अन्य यहूदी विपक्षी पार्टीहरूले अक्टोबरको निर्वाचनमा ४८ सिट जितेका थिए। नेतन्याहूको समूहले ५३ सिट जित्यो र दुवैले १२० सिट भएको संसद्मा बहुमतभन्दा कम पाए।
राष्ट्रपति हेर्जोगले चुनावपछि एक साता सबै पार्टीहरूसँग परामर्श गरेका थिए र त्यसपछि सेनाका पूर्व प्रमुख समेत रहेका आइजनकोटलाई सरकार बनाउन पहिलो मौका दिएका थिए।
अरब नेतृत्वका दुई गठबन्धनहरू युनाइटेड अरब लिस्ट र जोइन्ट लिस्टले अरब मतदाताहरूको मतदानमा सङ्ख्या बढेसँगै अभूतपूर्व १९ सिट जितेका थिए। यसले उनीहरूलाई सरकार बनाउनमा प्रभावशाली बनाएको छ।


प्रतिक्रिया