बाबुराम भट्टराईको गुनासो: गठबन्धनका दलहरुले इमान्दारिता देखाएनन्

बाबुराम भट्टराईको गुनासो: गठबन्धनका दलहरुले इमान्दारिता देखाएनन्


ग्लोब नेपाल
999
Shares

गोरखा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा इमान्दारिता नदेखाएको गुनासो गरेका छन् ।

शनिबार चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन गृहजिल्ला गोरखा सदरमुकाम आएका भट्टराईले पत्रकारसँग कुराकानी गर्दै गठबन्धनका दलहरुले स्थानीय तहको निर्वाचनमा इमान्दारिता नदेखाउँदा स्थानीय चुनावमा आफूहरुले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए । उनले गठबन्धनका अन्य दलहरुले नैतिक आचरण विपरीत काम गरेको आरोप पनि लगाए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘गठबन्धनको धर्म अनुसार एक पटक निर्णय गरेपछि त्यसलाई जसरी पनि कार्यान्वयन गर्नुपथ्र्यो । तर त्यसो भएन, लोकतान्त्रिक मूल्य मान्यता र नैतिक आचरण विपरीत भयो, यसकै फलस्वरुप हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेनौ ।’

उनले नेकपा एकीकृत समाजवादी पार्टीले पनि ढाँटछल गरेको आरोप लगाए । चुनावी तालमेल भएको ठाउँमा उनीहरुले जसपालाई सहयोग नगरेको भट्टराईको आरोप छ । संगठनात्मक कमजोरी र पार्टी भित्रकै अस्वस्थ प्रतिस्पर्धाका कारण पनि गोरखामा चुनाव हारेको उनले स्वीकार गरे ।

विचार नमिल्ने शक्तिहरु बिच गठबन्धन हुँदा पनि समस्या भएको उनले तर्क गरे । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोरखाको स्थानीय तह भागवण्डामा सहमति गरेपनि कांग्रेसकै कारण कार्यान्वयन हुन नसकेको उनले बताए ।