काठमाडौं । परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्दै आएका शिक्षकहरुले एसईईको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण पारिश्रमिक वृद्धिको माग गरेका छन् ।
काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालय परीक्षण केन्द्रमा उपस्थित भएका शिक्षकहरुले प्रतिउत्तरपुस्तिका परीक्षण वापतको पारिश्रमिक ५० रुपियाँ र सम्परीक्षण वापतको पारिश्रमिक १५ रुपियाँ बनाउन माग गर्दै सो पूरा नभएमा परीक्षण र सम्परीक्षण नगर्ने समेत चेतावनी दिएका छन् ।
नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति काठमाडौँ, नेपाल शिक्षक सङ्घ काठमाडौँ महानगर कार्यसमिति, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति काठमाडौँ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला कार्यसमिति काठमाडौँ र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काठमाडौँ महानगर कार्यसमितिले पारिश्रमिक वृद्धिको माग राखेका हुन् ।
शनिबार उनीहरुले हस्ताक्षरसमेत सङ्कलन गरेका छन् । नेशिसङ्घ काठमाडौँ महानगर कार्यसमितिका अध्यक्ष नारायणप्रसाद गौतमले पारिश्रमिक न्यून भएकोले वृद्धिको माग गरिएको बताउँदै मागपत्र तथा हस्ताक्षरलाई सोमबार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मा र परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीसमक्ष प्रस्तुत गरिने बताए ।
२०७४ सालमा शिक्षकले आन्दोलन गरी प्रतिउत्तरपुस्तिका परीक्षण वापत २० रुपियाँबाट २५ रुपियाँ पु¥याउन सफल भएका थिए । त्यसअघि एक प्रतिशत कर लाग्ने गरेकोमा पारिश्रमिक वृद्धि भएपछि १५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया