रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी


ग्लोब नेपाल
162
Shares

काठमाडौं । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

पार्टीको नाममा स्वतन्त्र राखिए साच्चिकै स्वतन्त्र उम्मेदवारलाई मर्का पर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो । बुधबार स्वतन्त्र उम्मेदवारी अभियानले ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै आयोगमा उजुरी दिएको हो।

स्वतन्त्र उम्मेदवारी अभियानका सँयाेजक डम्बर साहुले ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन् । ‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै उजुरी दिइएको पत्रमा भनिएको छ।

स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्तिरसमूहरसंस्थालाई गम्भीर आघात पुगेको बताइएको छ। साहुले निर्वाचन आयोगमा दर्ता गराएको पत्रमा भनिएको छ, ‘परम्परागत राजनीतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजन सहितका युवाहरु राजनीतिमा आउनु स्वागत योग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा स्वतन्त्र शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु।’

यता निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एउटा समूह निवेदन लिएर आयोगमा आएको जानकारी दिए । उनले भने, ‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएका आएकाहरु उहाँलाई भेट्न जानु भएको छ ।’

उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने उनले बताए ।

लामिछानेले ‘स्वतन्त्र’ शब्द जोडेर पार्टीको नाम घोषणा गरेपछि पक्ष र विपक्षमा बहस भइरहेको छ। लामिछानेले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेका छन्।