बाजुरा । बुढिगंगा नगरपालिकामा २७ सय ४० मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले १५ सय ९२ मत ल्याएका छन् भने कांग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडकाले १५ सय ५७ मत ल्याएकी छन् भने कांग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहीले १ हजार १६ मत ल्याएकी छन् । वडा नम्बर २ र ९ को मतगणना भइरहेको दुबैमा एमाले वडाअध्यक्षको अग्रता रहेको छ ।
मतगणना सकिएको १ नम्बर र १० नम्बर वडामा एमाले विजयी भइसकेका छन् । बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा कांग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी रणबहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोगबहादुर थापाले ३ सय १८ मत पाए ।
त्यस्तै बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउदले काँग्रेसका उम्मेदवार मोह बहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका छन् । विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याएका थिए भने मोहन बहादुर बुढाले ४ सय ८१ मत ल्याए ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
प्रतिक्रिया